चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

चेक बाउन्स, यो चुनाव र अबको चिन्ता

मुलुकका प्रमुख दलले जब मैमत्त भएर गति छाड्न थाले, त्यसको परिणाम जनताले मतबाट अभिव्यक्त गरेको प्रष्टै देखिएको छ । गठबन्धनको संस्कृतिले गर्दा विपक्ष नहुने अवस्था आएको छ भने यसले विपक्षबाट हुन सक्ने सबैखाले खतरा वा जोखिमलाई पनि सिध्याएको छ । नेपाली राजनीतिक दलका नेतृत्वको ब्रह्मज्ञानी हामी मात्रै हो, हामीलाई कसले हल्लाउन सक्छ ? हामीबाहेक अरु को छ ? हामीले जे गरे पनि हुन्छ भन्ने दम्भका विरुद्ध यो आवधिक निर्वाचनमा अभिमत प्रकट भएको अनुभव गरिएको छ ।

टालाटुली बटुलीवाला गठबन्धन भनेको दल सिध्याउने मेलो मात्र रहेछ एकछिनको न्यायो । आफ्नै गठबन्धन हुँदा सबै स्थानमा दलका उम्मेदवार हुने कुरा भएन । सबै ठाउँमा दलका उम्मेदवार नभएपछि पार्टी पंक्ति र कार्यकर्ता परिचालित हुने भएनन् । पार्टीको भोट पनि आउने भएन । यसले गर्दा निर्वाचनका लागि जुन उत्साह सञ्चार गर्न सकिने त्यो अवस्था सिर्जना हुन सकेन । त्यसैले मतदानमा निकै कम सहभागिता देखियो । यस पटक करिब ६१ प्रतिशत मतदाताको सहभागिताले मतदानप्रति वितृष्णा बढ्दै जाने खतरा देखिएको छ । किनभने जहाँ जुन दलको प्रत्यक्ष उम्मेदवार छन् तिनै दलका समर्थक र कार्यकर्ता मात्र परिचालित हुने भए । अन्य निष्क्रिय रहने र अराजकताले मौलाउने अवस्था सिर्जना भयो ।

पार्टीले टिकट वितरण गर्दा अपनाएको विधिका कारण पनि समस्या पैदा हुन थालेको छ । किनभने गठबन्धनमा सिट बाँडफाँट गर्दा केन्द्रीय नेताले मनपर्दी गरे । जिल्ला तहका नेता तथा कमिटीलाई सोध्ने कष्टसम्म गरेनन् । नेताहरूले आपूmखुशी निर्वाचन क्षेत्र छुट्याए । यसले गर्दा उम्मेदवारी पाउनेले पनि अन्य दलका नेतासँग सहकार्यको अवसर पाएनन् । परिचालन गर्ने अवसर त झनै मिलेन । उम्मेदवारी पाउनेले पनि गठबन्धन भएको अवस्थामा यसै चुनाव जितिहालिन्छ भन्ने मानसिकता पालेर बसेको देखियो । परिणाम चुनावका बेला अन्य दलका नेता तथा कार्यकर्ताले सहयोग गरेनन् भने कतिपय विद्रोही बने, कतिपयले विद्रोहीलाई खुलेआम सघाए । अर्कोतर्फ जहाँ रुखका उम्मेदवार छैनन् त्यहाँ हँसिया–हथौडा र कलममा मत हाल्नुभन्दा विद्रोही कांग्रेस, घण्टी र हलोमा दिनुपर्छ भन्ने मानसिकता कांग्रेसका केही नेता–कार्यकर्तामा देखियो ।

थ्रेट बिना काम गर्नै नसक्ने आदतबाट ग्रसित नेपाली दललाई यो चुनावले दह्रो दनक भने दिएको महसुस भएको छ । यसको फाइदा भने थ्रेट उब्जाउने दलका एकाध नेताले पाउन सक्ने सम्भावना पनि बढेर गएको छ । उनीहरूले बढी से बढी मन्त्री पदमा बार्गेनिङ गर्न सक्ने हैसियतमा आपूmलाई उकालेका छन् । किनभने थ्रेट गर्ने ल्याकत राखेपछि पार्टीको एजेण्डाभन्दा जुन गठबन्धन वा दलले मन्त्री पद दिन्छ त्यतै समर्थन गर्न सक्ने सम्भावना बढेर जाने पक्का छ । र, अहिलेको नतिजाले प्रष्ट रूपमा मिलिजुली गठबन्धनको सरकार बन्ने देखाएको छ । गठबन्धन सरकार बन्नुको अर्थ कमजोर सरकार हुनु हो अर्थात् सरकारका काम सही तवरले हुन सक्ने अवस्थाको अन्त्य पनि हो । भ्रष्टाचारी, कमिशनखोर र लुटाहाहरूले लुट्ने सम्भावना यस्तैमा बढिरहन्छ । गठबन्धनकै काँध चढेर मोटरसाइकलमा कुदेका कर छलीका सम्राट् विनोद चौधरीहरूले सरकारमा हालिमुहाली गर्न सक्ने अवस्था देखिएको छ ।

एजेण्डा र बलिदानको महत्व बुझ्ने मतदाताको रहलपहल रहुन्जेल दलहरूको केही बर्चश्व कायम होला, त्यसलाई भजाउन सकिएला । तर नबुझ्ने र नखेप्नेहरूको संख्या बढ्दै गएपछि भने दलहरूलाई निकै अप्ठ्यारो पर्नेछ । एजेण्डा र बलिदानको महत्व बुझ्नेहरू बाँकी रहुन्जेलसम्म त दलहरूको कुरा सुन्ने होलान्, बैंकमा नगद बचत रहेजस्तै त्यो चेक काट्दा साटिएजस्तै होला । तर यी कुरा नभोग्ने, नजान्नेहरू भएपछि चेक बाउन्स हुन कुनै आइतबार नलाग्ने रहेछ भन्ने यो निर्वाचनले संकेत गरेको छ । नेकपा (माओवादी केन्द्र)ले जनयुद्ध सुरुवात गर्दा जन्मेको बच्चा २८ वर्षे युवक भएको छ, गणतन्त्र घोषणा गरेको बेला जन्मिएको बच्चा मतदाता हुँदै छ । तर, हजुरबा पुस्ताले नाति पुस्ताको रुचि, रहर ् मनोविज्ञान बुझ्न सकेको पाइन्न । त्यसैले दल र तिनका नेताहरूले आफ्नो रवैयालाई परिवर्तन गर्नै पर्ने दबाब पनि यो निर्वाचनले दिएको छ । बेलैमा सबैलाई चेतना भया !
 

टिप्पणीहरू