काभ्रेका जनप्रतिनिधिलाई हिलोले गिज्यायो

काभ्रेपलाञ्चोक जिल्लाका ग्रामीण सडकको दुरावस्थामा कुनै सुधार नआएकाले स्थानीय र यात्रुहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । जिल्लाको भुम्लु गाउँपालिका हुँदै सिम्थली बेख्सिम्ले सडकखण्डमा लामो समयदेखि सडक मर्मतमा स्थानीय सरकारको नजर नपरेकाले स्थानीय र अन्य यात्रुले ज्यान जोखिममा राखेर सवारी साधनको प्रयोग गर्नुपरेको छ ।

स्थानीय रामकुमार पहरीका अनुसार पालिकाको वडा नम्बर १ सापिङको पहिरे खोलामा सडक खनेदेखि नै हालसम्म आवश्यक मर्मत नगरिएकाले सडक दूरावस्थामा पुगेको हो । ‘के गर्नु भोट माग्ने बेलामा नेताहरु यो गर्छु, त्यो गर्छु भन्दै घरमा चाप्लुसी घस्न आउँछन् तर जितेर गएपछि माखो मार्दैनन् । जो नेता आए पनि हामिलाई के गर्ने हो र १ यात्रु सबिता गिरीले भनिन् ।’

सम्बन्धित निकायमा पटक पटक गुनासो गर्दा पनि पालिकाले खासै वास्ता नगरेको र बहानामा डोजर मात्र दौडाएर जनताको आँखामा छारो हाल्न खोजेको स्थानीयको आरोप छ । सडक मर्मत नभएका कारण केही महिना अगाडि स्वास्थ्यकर्मी बेलैमा नपुग्दा नवजात शिशुको मृत्यु भएको थियो ।

यस विषयमा पालिका प्रमुखसँग बुझ्दा आफूले सक्दो प्रयास गरेको बताए । तर भुगोल नै अप्ठेरो भएको उल्लेख गर्दै उनले भने, ‘राम्रो सँग मर्मत हुन भूगोलले पनि साथ दिएन ।’ तर, हिजो जनताको घर दैलोमा पुगेर स्थानीयलाई पिच बाटोमा हिडाउँछौ भनेर दिएको प्रतिबद्धता आज त्यही हिलाम्य सडकको हिलोले जनप्रतिनिधिहरुलाई गिज्याइ रहेको छ ।

टिप्पणीहरू