महिला प्रहरीलाई ढुंगा हान्नेमा एमालेका ‘क्यारेट’ कार्यकर्ता सँलग्न

महिला प्रहरीलाई ढुंगा हान्नेमा एमालेका ‘क्यारेट’ कार्यकर्ता सँलग्न

सुकुम्बासीका नाममा सरकारी जग्गा मिचेर बस्नेमध्ये केही नेकपा एमालेका ‘क्यारेट’ कार्यकर्ता भएको खुलेको छ । हिजो थापाथलीको बागमती नदी किनारमा भएको झडपमा महिला प्रहरीको टाउकोमा लाठी प्रहार गर्ने उनै कार्यकर्ता भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । 

झडपमा महिला प्रहरीको टाउकोमा लाठी हान्ने र ढुङ्गा प्रहार गर्ने नक्कली सुकुम्वासी भएको उपत्यका प्रहरीको दाबी छ । यसअघि सुकुम्बासी आयोगको उपाध्यक्षसमेत रहेका नारायण परियार परिश्रमीको कोेटेश्वर–३१ मा तीन तले घर रहेको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खिचेको उनको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सुकुम्बासी हुँ भन्दै सरकारी जग्गा मिचेर बस्ने काठमाडौंका घरवालालाई राजनीतिक दलको संरक्षण भएको आलोचकहरुको भनाइ छ ।

आजै पार्टी अध्यक्ष ओलीले बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले थालेको अभियानको चर्को आलोचना गर्नुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघले उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सुकुम्बासीलाई शत्रुजस्तो व्यवहार गरिएको प्रतिक्रिया दिनुभयो । 

फुसको छाप्रा भत्काउन डोजर लगिएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभएको छ । तर तीन तले घर भएका एमाले कार्यकर्ताले नै सरकारी जग्गामा सुकुम्बासी भनेर डेरा जमाएको तस्बिर सर्वत्र सेयर गरिएको छ ।

टिप्पणीहरू