बाजुरा र स्याङ्जामा अब हुन्छ के ? मत गन्ने कि फेरि मत हाल्ने ?

बाजुरा र स्याङ्जामा अब हुन्छ के ? मत गन्ने कि फेरि मत हाल्ने ?

अन्त प्रायः सबैतिरको मत परिणाम आइसके पनि बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।

ती जिल्लामा पुनः मतदान वा मतगणना शुरु गर्ने विषयमा आयोगले आज बल्ल निर्णय गर्दैछ । दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप नेपाली काँग्रेस र एमालेले एक अर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित हुँदै आएको छ ।

काँग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएका छन् । आयोगका पाँच पदाधिकारीको संयुक्त बैठकले यसबारे निर्णय गर्नुपर्ने हुन्छ । आयोगको बैठक हिजो पनि बसेको थियो,तर कुनै निर्णय हुन सकेन । आज थप कानुनी परामर्श लिएर निर्णय हुनसक्ने स्रोतले बतायो ।

स्याङ्जा २ मा बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताका नामबाटसमेत मतदान गरिएको दाबी छ । बाजुरा त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जिव येडीको मृत्यु भएको थियो । काँग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन येडीको पनि राती घरैमा मृत्यु भयो । त्यहाँ पनि बुथ कब्जाको आरोप लाग्दै आएको छ ।

आयोगले विवादितमध्ये दोलखामा पुनः मतदानको निर्णय गरिसकेको छ । त्यहाँ भोलि मतदान हुँदैछ ।

टिप्पणीहरू