इलाममा माओवादीभन्दा घण्टी र कलम बलिया

इलाममा माओवादीभन्दा घण्टी र कलम बलिया

इलाममा प्रतिनिधि सभाको समानुपातिक मतगणनातर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा नेकपा माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो बनेको छ । 

चुनावी प्रचार–प्रसार अभियान नचलाए पनि इलाममा घण्टी चिन्हलाई माओवादीको गोलाकारभित्रको हँसिया हथौडाभन्दा बढी मत खसेको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ माओवादीले ६ हजार ८०२ मत प्राप्त गरेको छ भने स्वतन्त्र पार्टीले ९ हजार १३७ मत ल्याएको छ । 

सांगठानिक संरचना निर्माण नगरिसकेको उक्त पार्टीले माओवादीभन्दा २ हजार ३३५ बढी मत प्राप्त गरेको हो । इलामका प्रतिनिधि सभाको दुवै सीट र चार प्रदेश सीटमध्ये एक सीट जितेर नेकपा एमाले प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । 

प्रदेश सभाका दुई सीट जितेको नेपाली काँग्रेस दोस्रो बनेको छ । एमालेले ४७ हजार १२६ मत प्राप्त गरेको छ भने काँग्रेसले ३८ हजार ७८३ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । एमालेले काँग्रेसभन्दा ८ हजार ३४३ बढी मत प्राप्त गरेको छ । 

कूल मतदाता २ लाख २४ हजार ८७७ रहेको इलाममा प्रतिनिधि सभातर्फको समानुपातिकमा एक लाख २९ हजार ३४५ मत खसेको थियो । खसेको मतमा ५ हजार ४७१ मत बदर भएको छ । 

प्रदेश सभामा माओवादीभन्दा समाजवादी ठूलो

प्रदेश सभामा समानुपातिकतर्फको मतलाई हेर्दा माओवादीको मत नेकपा एकीकृत समाजवादीको भन्दा कम देखिन्छ । समाजवादीले प्रदेशसभातर्फ ९ हजार ६२७ मत प्राप्त गरेको छ । माओवादीले ६ हजार ३२३ मत ल्याएको छ । माओवादीभन्दा समाजवादीले ३ हजार ३०४ मत बढी पाएको देखिन्छ । 

प्रदेश समानुपातिकतर्फ पनि नेकपा एमाले जिल्लाको पहिलो दल बनेको छ । ४८ हजार ७१३ मत ल्याएको एमाले पहिलो र  नेपाली काँग्रेस ३९ हजार ५३९ मत प्राप्त गर्दै दोस्रो बनेको छ । 

प्रदेश सभाको समानुपातिकतर्फ १ लाख २८ हजार ७९४ मत खसेकोमा सात हजार २५१ मत बदर भएको छ ।

टिप्पणीहरू