यसरी तुहियो गृहमन्त्रीको ‘अप्रिय कदम’

यसरी तुहियो गृहमन्त्रीको ‘अप्रिय कदम’

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा प्रहरी प्रशासनको भ्याएसम्म दुरुपयोग गर्नुभएको आरोप लागेको छ । सशस्त्र प्रहरी बलका डिएसपी कृष्ण अर्याल र नेपाल प्रहरीका इन्सपेक्टर मधु नेपाललाई काँग्रेसकै कार्यकर्ता झैं खटाउनुले पनि उक्त आरोपलाई बल मिलेको बताइन्छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ पनि म्यादी प्रहरीलाई मतदान गर्न लगाइएको आरोप काँङ्रेस कार्यकर्ताले लगाएका छन् । निर्वाचन पर्यवेक्षकले टिकुलीगढ मावि मतदानस्थलमा भएको उक्त घटनालाई बाहिर ल्याएका हुन् । स्थानीय सञ्चारमाध्यमले मत हाल्दै गरेका म्यादीको समाचार लेखे तर त्यसको सुनुवाई नै भएन । 

त्यसो त मतदानको दिनअघि रुख चिन्ह भएका मिठाइका प्याकेट र पोका बाँडिएको थियो । मदिरा र मासुको साथै मौन अवधिमा आफ्नै निवास प्रभातपथमा बोलाएर नन्दन मिष्ठानको मिठाइसँगै पार्टी सदस्यता वितरण गरिएको फोटोसमेत सामाजिक सञ्जालमा हालिएकै हो । 

त्यसअघि चार वटा पिकअपमा ल्याइएको मदिरा निर्वाचन अनुगमन समितिका संयोजक विष्णु ज्ञवालीको रोहबरमा बरामद गरिएको थियो । मुख्य प्रतिस्पर्धामा रहेका राप्रपा उम्मेदवार दिपक बोहराको घर वरिपरि प्रहरीको बाक्लो तैनाथी र सतर्कता बढाइएको थियो । 

भैरहवाको होटल निर्वाणामा तीन दलीय बैठक बसेको थाहा पाउने बित्तिक्कै सादा पोशाकका सयौँ प्रहरी परिचालित हुने गरेका थिए । बोहराको घर अगाडिको बाटो हिँड्न अघोषित निषेध गरिएको स्थानीयले बल्ल बताएका छन् । 
 

मत गणनास्थलमा काँग्रेस कार्यकर्तालाई बिना रोकतोक भित्र जान प्रहरीले नै सहजिकरण गरेको थियो । अरुलाई बाहिरै रोकिएको तीतो अनुभव दलका प्रतिनिधिहरुको रह्यो । विशाल चौधरीजस्ता स्थानीय युवालाई बिना रोकतोक भित्र र बाहिर गर्न छुट दिइएको थियो । तर पत्रकारलाई समेत अचम्मको कडाइ गरिएको चर्चा अहिलेसम्म हुने गरेको छ ।

चौधरी प्रहरीलाई सूचना दिने,केश मिलाएर कमिशन खान माहिर कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । गणना स्थलमा उनको चुरिफुरि हेर्न लायक थियो । 

इन्सपेक्टर नेपालले मतगणनास्थलमा प्रहरी पोशाकमा बसे पनि सत्तारुढ पार्टीको कार्यकर्ताको भूमिका निभाएपछि अन्य दलले विरोध गरेका थिए । त्यसपछि उनलाई गणनास्थलमा जानबाट रोकिएको थियो ।

आफ्नो पक्षमा परिणाम नआउने देखेपछि मत गणना भइरहँदा भैरहवाको प्रभातपथमा गृहमन्त्रीसहितको बैठक बसेको बताइन्छ । सोही रात बालकृष्णका भाइ रामकृष्णसहित सिडिओ कार्यालयमा बैठक बस्नुलाई अर्थपूर्ण मानिएको थियो । उक्त सूचना एमाले,राप्रपाले पाएपछि उनीहरुले पार्टीका शीर्ष नेतृत्व मार्फत् प्रधान सेनापति र प्रधानन्यायाधीशलाई गणनामा तलमाथि हुन सक्ने,प्रहरीको सुरक्षाबाट आफूहरु असुरक्षित भएको जानकारी गराएको र सेनाले भैरहवाको मतगणनालाई विशेष चासो दिएको थियो ।
 
उता मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइराला कानुनभन्दा बाहिर जान नसक्ने अडानमा बसेपछि गृह प्रशासनको सहयोगमा बनाइएको योजना एकाएक तुहिएको चर्चा अहिले बुटवल र भैरहवामा व्यापक छ । मुख्य निर्वाचन अधिकृत कोइरालाले धेरै दबाब दिएको अवस्थामा मुचुल्का बनाएर स्थगन गर्ने तर कसैको दबाब र प्रभावमा नपर्ने जवाफ दिएपछि गृह प्रशासनको सम्भावित विशेष कदम रोकिएको थियो । 

उता एमाले,राप्रपाले गृहमन्त्रीले जस्तोसुकै हत्कण्डा अपनाउनसक्ने सुईंको पाएपछि जिल्लाका पत्रकार र निर्वाचन पर्यवेक्षकलाई जाकारी गराएका थिए । त्यसपछि रातभर पर्यवेक्षक र पत्रकारले मतगणनास्थल कुरेर बसे ।

स्रोतका अनुसार अन्तिम रातको मतगणनामा कांग्रेस प्रतिनिधि लेखनाथ भट्टराईहरुले हो–हल्ला मच्चाउने, त्यही बहानामा प्रहरीले काँग्रेसकै प्रतिनिधिलाई मरणासन्न हुनेगरी पिट्ने र सबैलाई बाहिर निकाल्ने योजना बनाइएको थियो । सोही बेला विजयी हुने ‘उपाय’ घुसार्ने योजना बनाइएको तर सेना र मुख्य निर्वाचन अधिकृतले त्यसमा असहमति जनाउने देखेपछि योजना तुहिएको दाबी छ ।
 
त्यतिबेला युवासंघका कार्यकर्ताले प्रहरीले सवारी साधनमा पास नभएका काँग्रेस कार्यकर्तालाई गणनास्थलमा लगेको खबर पाएपछि गणनास्थलको मूल ढोकामा प्रहरीको गाडीसमेत चेकजाँच गरेका थिए । 
बाहिर एमाले,राप्रपा र जसपाका युवाहरुको सशक्त उपस्थिति अनि भित्र पत्रकार, पर्यवेक्षकको बाक्लो बसाईले मुख्य निर्वाचन अधिकृतको इमानको अगाडि गृहप्रशासनले बनाएको हर्कत तासको घरझैँ ढलेको दाबी गरिएको छ ।

टिप्पणीहरू