प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

प्रदेश १ मा पनि भित्रभित्रै कुर्सीको खेल शुरु

यसअघिको प्रदेश सभामा पहिलो कार्यकाल नेकपा माओवादी केन्द्र र एमाले मिलेर दुईतिहाई बहुमतको सरकार साढे तीन वर्ष चलाएको प्रदेश १ मा अहिले फरक परिस्थिति उत्पन्न भएको छ । अघिल्लो प्रदेश सभामा दोस्रो कार्यकालको निम्ति सरकार बनाउन दुई गठबन्धनबीच चर्को प्रतिस्पर्धाको अवस्था सिर्जना भएको थियो । 

हालैको निर्वाचनमा प्रदेश सभाका लागि समानुपातिकबाट ३७ र प्रत्यक्षबाट ५६ जना सांसद निर्वाचित हुनेछन् । बहुमतको सरकार बनाउन ४७ सीट आवश्यक पर्छ । निर्वाचन मतपरिणामअनुसार प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ सीट जितेको छ भने समानुपातिकतर्फ १४ सिट प्राप्त गरेमा उसको जम्मा ३९ सीट हुनेछ । 

एमाले गठबन्धनमा राप्रपाले प्रत्यक्षमा दुई सीट जितेर समानुपातिकमा चार सीट पाउने सम्भावना छ । जसपाले प्रत्यक्षमा एक सीट नजिते पनि समानुपातिकमा एक सीट पाउने देखिन्छ । एमाले गठबन्धनको कूल सीट संख्या ४६ मात्र हुने सम्भावना छ । 

काँग्रेसले प्रत्यक्षमा १७ सीट जितेको छ भने समानुपातिकमा १२ सीट पाएमा उसको कूल २९ सीट कायम हुनेछ । काँग्रेस गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ९ सांसद जितेर समानुपातिकमा ४ सीट प्राप्त गरेमा उसको १३ सिट हुनेछ । 

यसैगरी प्रत्यक्षमा ३ सीट जितेको एकीकृत समाजवादीले समानुपातिकमा १ सीट प्राप्त गरेमा उसको कूल ४ सिट हुनेछ । संघीय लोकतान्त्रिक मञ्चले प्रत्यक्षमा जितेको छैन । समानुपातिकमा एक सिट पाउनसक्ने सम्भावना छ ।

यो अनुपातमा काँग्रेस गठबन्धनको कूल ४७ सीट पुग्नेछ । एमालेसँग गठबन्धन गरेको जसपाले मुलुकका अधिकांश भेगमा हार व्यहोरेकाले उसले एमाले गठबन्धनको साथ टुटाउन सक्ने सम्भावना प्रवल छ । यसो भएको अवस्थामा प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बन्न सक्छ । 

तर प्रदेश सरकार पनि राष्ट्रिय नीतिमा परिचालित हुने भएकाले यसै भन्न सकिने अवस्था छैन । संघमा पुनः एमाले र माओवादी पार्टी मिलेमा प्रदेश १ मा एमाले र माओवादीको सुविधाजनक बहुमतको सरकार बन्ने सम्भावना पनि छ । तर त्यो सम्भावना तत्काल नदेखिने बताइन्छ ।

अर्कोतर्फ राप्रपाले जुन गठबन्धनलाई साथ दिन्छ त्यही गठबन्धनले फराकिलो बहुमत पुर्याउने सम्भावना उत्तिकै छ । यो अवस्थामा प्रदेश १ मा आगामी सरकार कसको र कसरी बन्छ भनेर ठोकुवा गरिहाल्न सकिन्न ।

दुवै गठबन्धन बाँडिएर वा भाँडिएर सरकार बनेमा प्रदेश सरकार कुनै पनि बेला गिर्ने सम्भावना रहिरहन्छ । यस्तो अवस्थामा कुनै पनि विधेयकमाथि मतदान हुँदा सभामुखले निर्णायक मत दिनुपर्ने अवस्थासमेत आउन सक्छ । 

प्रदेश १ मा निर्वाचित भएका र हुनेहरुमध्ये काँग्रेसमा मोरङका अमृत अर्याल,झापाका उद्धव थापा, उदयपुरका  हिमाल कार्कीलगायत मुख्यमन्त्रीको दावेदार हुन् । एमालेमा झापाका हिक्मत कार्की निर्विकल्प छन् ।

माओवादीबाट पाँचथरका ईन्द्रबहादुर आङ्बो दावेदार देखिएका छन् । यसअघि ९३ जना सांसदमध्ये एमालेका ४१, काँग्रेसका २१, माओवादी केन्द्रका १६, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादीको ३ लोकतान्त्रिक मञ्चको १ र राप्रपाको १ जना सांसद थिए ।

उक्त प्रदेशमा पहिले एमाले र माओवादी केन्द्रले शेरधन राईको नतेृत्वमा मिलिजुली सरकार बनाएका थिए । पछि नेकपामा विभाजन आएपछि एमालेका भीम आचार्य सवा दुई महिना मुख्यमन्त्री बने । केन्द्रीय राजनीतिको उतार चढावका कारण पछिल्लो समय प्रदेश १ मा काँग्रेस,माओवादी, जसपा,एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक मञ्च गठबन्धनको संयुक्त सरकार बनेको थियो ।

टिप्पणीहरू