जसपाले चुनावी समीक्षा गर्ने
जनता समाजवादी पार्टी जसपाले हालैको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्ने भएको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सात सीट जितेको जसपाले हार व्यहोर्नुपर्नाको कारण खोज्न थालेको छ । पार्टीले सम्पूर्ण प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
क्षेत्रगत आधारमा पार्टीका भ्रातृ संगठन, विभिन्न तह र स्तरका नेतृत्वदायी भूमिकामा रहेका नेतृत्वदायी सदस्यहरुले पदीय जिम्मेवारीअनुसार निर्वाचनमा खेलेको भूमिका, समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवारहरुको भूमिका, निर्वाचनका बखत भएका सकारात्मक तथा नकारात्मक कार्यलगायतका विषयहरु प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ ।
अध्यक्ष उपेन्द्र यादवले मातहतका समितिलाई लेखेको पत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा प्राप्त मत र केही स्थानमा प्राप्त गर्न सकिने मत तथा सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त चुनावी नतिजालाई ध्यानमा राखेर प्रतिवेदन बनाउन भनिएको छ ।
‘प्रतिवेदन सत्यतथ्यमा आधारित र पूर्वाग्रहरहित हुनुपर्ने छ,’ अध्यक्षको पत्रमा लेखिएको छ ।
टिप्पणीहरू