काठमाडौंमा चार दिन हराएका भारतीय पूर्वराजदूत नयाँ दिल्ली फिर्ता

काठमाडौंमा चार दिन हराएका भारतीय पूर्वराजदूत नयाँ दिल्ली फिर्ता

नेपाल भ्रमणमा आएका भारतीय पूर्वराजदूत राकेश सुद हिजो नयाँ दिल्ली फर्केका छन् । उनी सुप्रिम कोर्टका वरिष्ठ अधिवक्ता प्रतिककृष्ण चड्डासँगै भिस्तारा एयरको उडान नम्बर युके १५६ बाट अपरान्ह साढे ४ बजे उता गएका हुन् ।

यसअघि गत साताको मंगलबार निर्वाचन परिणामको प्रारम्भिक नतिजा आउँदै गर्दा काठमाण्डौ विमानस्थलमा उत्रेका सुद बिहीबारदेखि एकाएक गुमनाम भएका थिए । उनी बिहीबार अबेरसम्म होटल भिभान्तामा श्रीमतीसँगै थिए । 

बुधवार र बिहीवार त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गरेका सुद गत बिहीवार साँझदेखि अन्यत्रै गएका थिए । सोही दिन साँझपख काठमाडौं विमानस्थल पुगेर उनै चड्डालाई रिसिभ गरेका हुन् । ‘क्रिमिनल लयर’ चड्डालाई बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा छाडेपछि पुनः आफू बसेको होटल भिभान्ता पुगेर साँझ ‘चेक आउट’ भएका सुदले उनै चड्डासँग मध्यरातसम्म होटल द्वारिकाजमा गफ गरेका थिए । 
 
तर, त्यहाँबाट निस्केका उनी न भिभान्ता पुगे, न द्वारिकाजमा नै बसे । कतिपयले उनी चन्द्रागिरीस्थित होटल चन्द्रागिरीमा बसेको अनुमान लगाए । कतिपयले नागपोखरीस्थित होटल मेरियटमा र कसै कसैले गोकर्ण रिसोर्ट पुगेको हुनसक्ने आकलनसमेत गरेका थिए । 

उनी काठमाडौंमा आयोजित एउटा कृषिसम्बन्धी गोष्ठीमा भाग लिन आएका हुन् । डलर अर्बपति तथा गत साता सांसदमा निर्वाचित विनोद चौधरीको होटल भिभान्तामा आयोजित कार्यक्रममा उनले सहभागिता जनाएका थिए ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आयोजनामा गरिएको तीन दिने ‘म्यानेजिङ स्ट्राटेजिक रिस्क इन एसिया एण्ड द प्यासिफिक’ विषयक कार्यक्रममा पूर्वराजदूत सुदसहित चार जना भारतीय टोली सहभागी भएको हो ।

टिप्पणीहरू