एकता नटुटेको भए, नेकपा नफुटेको भए...

एकता नटुटेको भए, नेकपा नफुटेको भए...

२०७५ सालमा एकीकृत भएको नेकपा नफुटेको र वाम तालमेल रहिरहेको भए यसचोटिको चुनाव कस्तो हुन्थ्यो होला ? जानकारहरू भन्छन्, ‘दुई तिहाई त सजिलै आउने रहेछ ।’ तर, आ–आफ्नै कार्यशैलीका कारण अघिल्लो संसदमा झण्डै दुई तिहाईको उपस्थिति र यसपटक त्यै सहजै हासिल हुने गरी परिणाम गुम्न पुगेको छ । नीति, सिद्धान्त र विचार हैन, नेताको कार्यशैली र जुँगाको लडाइँका कारण नेपाली कम्युनिष्ट आन्दोलन नै क्रमशः क्षयीकरणतर्फ उन्मुख छ । त्यसरी नै जसरी, छिमेकी मित्रराष्ट्र भारतस्थित पश्चिम बंगालमा निर्मित शक्तिशाली कम्युनिष्ट विरासत एकपछि अर्को भत्किँदै गयो र शून्यप्रायः स्थितिबाट गुज्रिएको छ । भारतभर आज कम्युनिष्टहरूलाई कुनाकाप्चातिर खोज्नुपर्ने स्थितिको कारक वामपन्थी सिद्धान्त र नीति थिएन, तर, त्यसैको नाममा व्यक्तिहरूको रवैया रह्यो । त्यही इगो नेपाली कम्युनिष्ट आन्दोलनमा हाबी भइरहेको छ । 

भारतको क्षतिलाई हेर्दा अरु पनि कारण छन्, तर मूलतः व्यक्तिहरू नै सोको मूलपात्र ठहरिएका छन् । शुरुवाती समयका कम्युनिष्ट नेता एमएन रोय, अमृत डाँगे, बिटी रणदीबेहरूको राजनीतिक जीवन नै संदिग्ध रह्यो । त्यसपछिको पुस्तामा नेपालका मदन–मनमोहन भनेजस्ता हरकिसन सिंह सुरजित, नम्बुदरीपाद र ज्योति बसुले आन्दोलनलाई उचाईं त दिए, तर त्यसलाई धान्ने नेतृत्व आएन । त्यसपछिको पुस्ताका प्रकाश कारात, सीताराम यचुरी, दीपंकर भट्टाचार्यहरू कार्यक्षमताका दृष्टिले आन्दोलनको रक्षा र विकास गर्न सक्षम रहेनन् । कुनै बेला पश्चिम बंगालमा भारतीय कम्युनिष्ट पार्टी, माक्र्सवादी (सिपिएम) एक्लैले झण्डै ३८ प्रतिशत जनमतमा वर्चस्व कायम गरी संघीय संसद् लोकसभाभित्र ३७ सीट जित्यो । अहिले त्यही पश्चिम बंगालमा कम्युनिष्ट पार्टीसँग जम्माजम्मी ६ प्रतिशत जनमत छ, संघीय संसदको उपस्थिति भने शून्य † एउटा निर्वाचन क्षेत्रबाहेक कुनै उम्मेदवारले जमानत जोगाउन सकेनन् । 

अर्को कम्युनिष्ट गढ मानिन्थ्यो, त्रिपुरा । त्यहाँ पनि शून्य स्थिति छ । बिहारका दुई क्षेत्रको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी हुन सकेको कुरालाई जितेजत्तिकै उत्सव मनाउनुपर्ने ठाउँमा कम्युनिष्ट पार्टी पुगेको छ । पुरानो गढमध्ये तामिलनाडुमा चार सीट छ, त्यो पनि अन्य दलसँगको गठबन्धनका कारण हासिल भएको । जम्माजम्मी पुरानो गढमध्ये भाकपाले केरलाबाट एउटा सीट जित्यो, जुन आफ्नो बलबुताको कमाई हो । कुनै बेला उत्तरप्रदेश, महाराष्ट्र, आन्ध्र, मध्यप्रदेश, तेलंगाना, पञ्जाबजस्ता राज्यमा एक्लो वर्चस्व स्थापित गरेका विभिन्न भारतीय कम्युनिष्ट घटकले व्यक्तिहरूकै कार्यशैलीका कारण सन् १९६० को दशकमा पुग्दा त्यो विरासतलाई बंगाल, त्रिपुरा र केरलामा सीमित राखे । अहिले खोज्दा पनि भेट्टाउन मुश्किल छ । नेपालमा यसचोटिको निर्वाचनले कम्युनिष्टहरूको जनमतमा जुन क्षति ल्याएको छ, यो सम्पूर्ण हानि त होइन । तर, भारतमा जस्तै श्रृंखलावद्ध क्षतिको एउटा नमुना हो र सबभन्दा खतरनाक कुरा त आन्दोलनमा हावी भएका पात्र र प्रवृत्तिबीच समानता हुनु हो । 

यसपालिको चुनावको रमाइलो कस्तो छ भने, ०७४ मा माओवादीले बल दिँदा एमाले ८० सीटमा पुग्यो । अहिले माओवादी–एसले हात झिक्दा ४३ सीटमा झ¥यो । त्यही चुनावमा कांग्रेस एक्लै लड्दा, २३ सीट ल्यायो । अहिले माओवादी र समाजवादीले कांग्रेसलाई बल दिँदा उसले ५३ सीट पाएको छ । तर, साथ दिने माओवादीलाई चाहिँ दोब्बरका हिसाबले क्षति भयो । एमालेसँगै गठबन्धन हुँदा माओवादीलाई ३६ सीट हात लागेको थियो, तर अहिले कांग्रेसलाई ५३ को संख्या दिलाउने एउटा महŒवपूर्ण साझेदार भएर पनि आफू पहिलाको तुलनामा आधाका दरले झर्नुपरेको छ, १७ सीटमा । कम्युनिष्ट–कम्युनिष्टका बीचमा मत साटासाटजस्तो सजिलो कांग्रेस र कम्युनिष्टका बीचमा हुँदैन भन्ने कुरा पनि यसचोटिको चुनावले देखाएको छ । वाम–लोकतान्त्रिक गठबन्धनमा एकीकृत समाजवादीले कांग्रेसको मनग्यै भोट पायो, तर माओवादीले पाएन । पाएको भए उसले कम्तिमा ३० सीट जित्ने रहेछ ।

यही स्थितिमा कम्युनिष्टहरू ०७४ मा झैँ मिलेर गएको भए कांग्रेस पुरानै स्थितिमा झरेर कम्युनिष्टहरू आरामसँग दुई तिहाई बहुमतमा हुन्थे । यदि, पुस ५ पछि केपी ओलीमा दम्भ सवार नहुन्थ्यो, संसद, पार्टी सबैतिर भाँडभैलो नमच्चाएको भए आज त्यस्तो दिन देख्न सकिन्थ्यो । किनभने, त्यसबेलाको नेकपा सरकारले पाँच वर्ष मज्जाले चलाएको भए प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद हुन सक्थ्यो । रवि लामिछानेहरू समीक्षा बाँस्कोटाजस्तै हराउँथे, बिलाउँथे । विभाजन नभएको भए माओवादीतिरका रामबहादुर थापा (बादल), लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साहहरू तितरबितर हुने थिएनन् । बरु, बाबुराम, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङहरू पनि नेकपामा सामेल भइसक्ने थिए । अहिलेकै परिणाममा कम्युनिष्टहरूको मात्रै संख्या जोड्दा जनमोर्चा, नेमकिपा १–१, एकीकृत समाजवादी १०, माओवादी केन्द्र १८, एमाले ४५ ले ७५ सीट प्रत्यक्षमा जित्ने देखिन्छ । तिनका उम्मेदवारले ल्याएको मत जोड्दा अथाहा छ । त्यसमाथि जित्ने ठाउँमा पनि कतै माओवादी, कतै समाजवादीलाई पराजय हात लागेको छ ।

समाजवादीतर्फ इलाममा झलनाथ, सिरहामा धर्मनाथ, उदयपुरमा जगन्नाथ र कास्कीमा श्रीनाथले हार्नेस्थिति कांग्रेसको पूरा भोट ट्रान्सफर नभएर हो । त्यसमध्ये उदयपुर र कास्कीमा त कांग्रेसका बलिया बागी थिए । माओवादीतर्फ सुनसरी– १ मा मुक्साहाङ, काठमाडौं– २ मा ओनसरी, ७ मा मानुषीसहित थुप्रैले हार्नुमा कांग्रेस कारक देखिन्छ । तर, कम्युनिष्टहरू मिल्दा यीसहित यस्ता करिब ५० ठाउँमा कांग्रेसले चिहाउने स्थिति पनि हुँदैन थियो । यसरी नेपालको संसद कस्तो बन्न पुग्यो भने, सबै कम्युनिष्ट मिलेर सरकार बनाऔँ भन्दा पनि संख्या नपुग्ने ।

भारतीय कम्युनिष्टहरूले सन् १९५२ को पहिलो लोकसभा निर्वाचनमा १६ सीट र सन् १९६२ मा एकीकृत भाकपाले १० प्रतिशत मतसहित २९ सीट जिते । तर, सन् १९६४ मा पार्टी विभाजनपछि १९६७ को चौथोे लोकसभा निर्वाचनमा पुग्दा सिपिआईले २३ र सिपिएमले १९ गरी जम्मा ४२ सीट जिते । शक्ति छिन्नभिन्न हुँदा अघिल्ला दिन सुखद् रहेन । केही वर्षअघि सम्पन्न १७ औं लोकसभा निर्वाचनमा पुग्दा कम्युनिष्टहरूले जम्मा दुई सीट र ०.७८ प्रतिशतमात्रै मत पाए । जबकि एकताका ती लोकसभाको सभामुख, केन्द्रीय गृह र कृषिमन्त्रीसमेत थिए । भारतमा भएको र नेपालमा हुँदै गरेको क्षतिको समानताबारे वामपन्थी विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘नेतृत्व गतिशील भएन, युवा नेतृत्वको विकास अर्थात् यथोचित समयमा पुस्तान्तरण गरिएन । फलतः त्यसले जनमत गुमाउँदै लग्यो ।’ 

कम्युनिष्टहरू दम्भी हुँदा विश्व राजनीतिक रंगमञ्चमा ठुल्ठूला क्षति भएका छन् । कुनै बेला युगोस्लाभियामा साम्यवादी सत्ता थियो, शासक मार्सल टिटो थिए । उनको कार्यकालपछि नेता–नेताबीच भाँडभैलोमात्रै मच्चिएन, देश टुक्रिएर बोस्निया–हर्जगोभिना, क्रोएशिया, कोसोभो, मोन्टेनिग्रो, मेसिडोनिया, सर्बिया र स्लोभानियाका रूपमा विभाजित भए । त्यसमाथि चेकोस्लोभाकिया टुक्रियो, चेक गणतन्त्र र स्लोभाकिया बन्न पुग्यो । मिखाइल गोर्भाचोभको विघटनकारी कार्यशैलीले आधा र संसार हाँकेको सोभियत संघ १५ टुक्रामा बाँडियो । त्यसपछि रुसमा गेन्नाडी एनायेभ र बोरिस यल्तसिनजस्ता अतिवादीको उपय भयो ।

नेपालका कम्युनिष्ट हर्ताकर्ताले यी केही विश्व घटनाबाट शिक्षा लिएनन् भने त्यसबाट हुने श्रृंखलावद्ध क्षति पर्खिनुबाहेक अरु उपाय हुँदैन ।

– विश्वमणि सुवेदी
 

टिप्पणीहरू