काँग्रेसको संसदीय दलमा चुनावको संकेत

काँग्रेसको संसदीय दलमा चुनावको संकेत

पार्टीभित्रका नयाँ पुस्ताले सरकारको नेतृत्वमा दाबी नछाडेमा नेपाली काँग्रेसमा संसदीय दलको नेता चयनको निम्ति निर्वाचनको परिस्थिति देखापर्दै गएको छ । महामन्त्री गगन थापाको प्रधानमन्त्री हुने उद्घोष र अर्का महामन्त्री विश्वप्रकाश शर्माको जोडबलले उक्त परिस्थितिलाई मलजल गरेको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहको बुझाइ छ ।

काँग्रेसले यस पटकको निर्वाचनको अन्तिम परिणाममा ८८ सीट ल्याएमा संसदीय दलको नेता बन्न कम्तीमाक ४५ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक प्रणालीतर्फबाट क्लस्टरको सूचीमा राखिएको नामका आधारमा सभापति देउवाको पक्षमा ५१ र संस्थापनइतर समूहतिर ३२ सांसद देखिन्छन् ।

यसबीचमा काँग्रेस महामन्त्री गगन थापालाई दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले प्रयत्न गर्ने बताइसकेका छन् । उक्त उद्घोषले प्रदीप पौडेललगायत देउवा समूहका रहेका धेरै युवा सांसदले गगनलाई साथ दिने सम्भावना उत्तिकै रहेको बताइन्छ । महामन्त्री थापाले आगामी शनिबारदेखि संसदीय दलको नेता चयनका लागि आफूले सांसदहरूसँग भेटघाट र छलफल अघि बढाउने बताइसकेका छन् । अर्का महामन्त्री शर्माले पनि सर्वसम्मत नभए निर्वाचनबाटै दलको नेता चुनिने घोषणा गरिसकेकाले यसपटक काँग्रेस संसदीय दलको नेतामा चुनाव हुने सम्भावना बढेको हो ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस तीनै तहको सरकारमा दोस्रो स्थानमा सीमित थियो । तर, यस पटकको स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पहिलो दलका रूपमा स्थापित भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस तीन सय २९ सिट जितेर पहिलो दल बनेको हो ।

हालको निर्वाचनमा कांँग्र्रेस प्रदेश र प्रतिनिधि सभातर्फ पहिलो दल बन्ने निश्चित छ । यद्यपि अझै प्रतिनिधि सभाका चार निर्वाचन क्षेत्र र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छैन । हालसम्म काँग्रेसले प्रदेशमा एक सय पाँच सीट जितेको छ । जुन अघिल्लो निर्वाचनभन्दा दोब्बरले बढी हो । 

प्रतिनिधिसभा तर्फ काँग्रेसले अहिलेसम्म ५४ स्थान जितेको छ । मतगणना भइरहेको एक क्षेत्रमा अग्रता लिइरहेको छ । बाजुरा र स्याङ्जा २ मा मतगणना आजबाट सुुरु हुने भएको छ । जसमा काँग्रेसका दुई उम्मेदवार छन् । यदि दुवै क्षेत्रमा काँग्रेस उम्मेदवारले जिते भने काँग्रेसको बढीमा ५७ सीट पुग्छ । 

समानुपातिकतर्फ काँग्रेसले २६ लाख मत कटाउने देखिएको छ । यसआधारमा ३२ सांसद पाउने अवस्था हुन्छ । त्यस्तो अवस्थामा नेपाली काँग्रेसको बढीमा ८८ जना सांसद हुनेछन् । काँग्रेसले ८८ सीट ल्याएमा र नेकपा एकीकृत समाजवादीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएमा सत्तागठबन्धनकै सरकार बन्ने निश्चित छ । त्यही भएर काँग्रेसमा यस पटक नयाँ पुस्ताले सरकारको नेतृत्व लिनुपर्ने आवाज प्रबल रूपमा उठेको हो ।

टिप्पणीहरू