पापी पति जब झुल्कियो मन पगाल्न

पापी पति जब झुल्कियो मन पगाल्न

विवाह भनेको सम्बन्धको डोरी हो । त्यो डोरीमा बाँधिएपछि सजिलै जो–कोही कहाँ फुत्किन सक्लान् ? भनिन्छ– प्रेम, विवाह र मृत्यु जीवनका फरक–फरक पाटा हुन् । प्रेम जोसँग हुन्छ त्योसँग विवाह हुनै पर्छ भन्ने छैन र मृत्यु त अझ त्योभन्दा परको कुरा हो । दुई मुटु, एक धड्कन भएपछि के नै चाहियो र ! प्रेममा पर्दा कसलाई यस्तो महसुस नहोला ? त्यसैले त प्रेम अन्धो र अपूरो हुन्छ, साँचो प्रेम त त्यतिबेला उघ्रिन्छ जब विवाह हुन्छ र लोग्ने–स्वास्नीको सम्बन्ध शुरु हुन्छ । 

मीनालाई अहिले छोरीको मायाले मात्र जबर्जस्ती सम्बन्धमा बस्न बाध्य हुनुपरेको छ । छोरी नहुँदी हो त उहिल्यै निर्णय लिइसक्थिन् । एउटी नारी, विवाहअघि होस् या पछि श्रीमान्को माया पाइराखुँझैं लाग्छ र श्रीमान्लाई पनि श्रीमतीको साथ खट्किनै रहन्छ । तर, मीनाको जीवनमा भने विवाहपछि ठीक उल्टो चल्यो । भनिन्छ, महिला–पुरुष एक रथका दुई पांग्रा हुन् । मीना पांग्रा बन्न खोज्थिन् तर श्रीमान् रथ चलाउनै नमान्ने । 

विवाह भएर छोरी जन्मिएको महिना दिन नबित्दै श्रीमान् विदेश उडे । मीनाको कर थियो आटो पीठो, जे पाक्छ यतै खाम्ला । सुख, दुःख गाउँ रामेछापमै जिआँैला, विदेश नजानू । घरमा किराना पसल राम्रैसँग फस्टाइरहेको थियो । पसलको आम्दानीले परिवार चलाउन धौ–धौ थिएन । तर, श्रीमान् भने पसल चलाउन छाडेर विदेश जान चाहन्थे । मीना त्यतिखेर दुई जिउकी थिइन् । सुत्केरी अवस्थामा श्रीमान्ले साथ देओस्, बरु विदेश जाने पैसा पनि पसलमै लगानी गरोस् भन्ने चाहन्थिन् । तर, श्रीमान्ले कुरा सुन्नै चाहेनन् । उनी श्रीमान्लाई फकाउन खोज्थिन्, आफ्नो अवस्थाबारे भन्थिन् । श्रीमान् मान्दै नमान्ने । अन्ततः दूधे छोरी र सुत्केरी श्रीमतीको माया मारेर श्रीमान् सन्त उडे पराइ भूमि, खाडी मुलुक दुबई । 

श्रीमान् उडेपछि दुःखका दिन शुरु भए । उनी हुँदा कमसेकम सासू, ससुराले उति टोकसो दिन्नथे । तर, सन्त विदेश उडेको केही दिनदेखि नै कालो दिन शुरु भयो । सुत्केरी अवस्थामै काममा जोतिनुपथ्र्याे नत्र सासूले कपाल लुछ्नसम्म पछि नपर्ने । श्रीमान्लाई यही दिन आउँछ भनेर पटक–पटक विदेश नजान र बरु पसल व्यवसायमै रम्न आग्रह गरेकी हुन् ।

सन्त दुबई उडेपछि फोन सम्पर्क बिरलै हुन्थ्यो । ल्याण्डलाइन फोनबाट विस्तारै मोबाइल फोनमा प्रविधि परिणत भए पनि घरमा सासूले फोन छुन र चलाउनै नदिने ! श्रीमान्सँग दुःखका पहाड पोख्न मन हुँदा मीना जबर्जस्ती मोबाइल फोन समात्न पुग्थिन् तर सासूले चाल पाइहाल्ने । र, खोसिहाल्ने । श्रीमान् विदेश गएपछि कैयौँपल्ट फोन गर्न खोज्थिन् तर सासूले कब्जा जमाइहाल्ने । सन्त पनि विदेश गएपछि श्रीमतीभन्दा आमातिरै थिए । विदेश गएको २ वर्ष बित्यो तर श्रीमान्सँग एकपटक पनि मीनाले बोल्न पाइनन् । 

सात जुनी सँगै बाँच्ने र मर्ने कसम खाने श्रीमान्ले सिन्दूरको अपमान गरेपछि उनलाई घरमा बस्न मन रमेन । एकदिन बिहानै काखमा छोरी च्यापेर लागिन् काठमाडौँ । काठमाडौँ कहाँ सोचेजस्तो सजिलो र प्यारो थियो र ? त्यसमाथि चिनेका कोही थिएन । काठमाडौँ उनका लागि अनकन्टार जंगलझैँ लाग्यो । पेटी र पुलमुनिको बास भयो । सडकछाप भएर छोरी च्याप्दै हिँडेको केही दिनपछि एक जना दिदीसँग भेट भयो । ती दिदी साँच्चिकै कति मनकारी । घरमा लगेर तातो खाना खुवाइन्, छोरीलाई दूध पिलाइन् । 

ती दिदीको स्नेह र काठमाडौंमा भोको भएर हिँडेको दिन सम्झिँदा उनी डाँ“को छोडेर रुन्छिन् । यदि उनी नभएको भए मीना आज कहाँ हुन्थिन्, छोरीको जिन्दगी कस्तो हुन्थ्यो, परिकल्पना पनि गर्न चाहँदिनन् । ती दिदीले नै गार्मेन्टमा काम लगाइन् । गार्मेन्टको कमाइले गुजारा गर्न सहज हुँदै गयो । कलिलै उमेरमा विवाह गरेकाले पनि होला मीना नानीकी आमाजस्ती देखिन्नथिन् । जम्मा २२ वर्षकी त थिइन् त्यतिबेला !

अहिले २८ पुग्नै लागिन् । पशुपति कलेजमा स्नातक पढिरहेकी छन् । गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा केही पुरुषले कर्के नजर लगाएपछि दिदीकै सल्लाहबमोजिम त्यो छाडेर अन्य काम गरिन् । घरका लागि गिट्टी, सिमेन्ट बोक्नेदेखि ठेलागाडासम्म कुदाइन् । तर, यी काम गर्दागर्दै एउटा नयाँ हुटहुटी जन्मियो– अब पढ्छु र छोरीलाई पनि पढाउँछु । मीना अहिले एउटा दैनिक पत्रिकामा काम गर्छिन् । बिहान कलेज जान्छिन् र कलेजबाट फर्केर ड्युटीमा जान्छिन् । 

त्यो दिनदेखि यो दिनसम्म आइपुग्दा सन्तले एक दिन मीनाको हालचाल बुझ्न आएनन् । सारा मनमुटु दिएकी मीनाले श्रीमान्लाई अनेकौँ बिन्ती भाउ बिसाउँदा पनि विदेश जान नमानेपछि सुत्केरी अवस्थामै छाडेको र सम्पर्कविहीन बनाएको कसरी बिर्सिन्छिन् ? एउटी महिलालाई आफ्नो श्रीमान्ले सधैँ साथ दिइरहोस् भन्ने हुन्छ तर सन्तले मीनालाई कहिल्यै अडेस लाग्ने ठाउँ दिएनन् । 

केही दिनअघिको कुरा हो । मीना साँझ चाबहिलको गणेशस्थानबाट तरकारी, फलफूल लिएर घर गइन् । घर पुग्दा अन्य दिनभन्दा माहोल अलि फरक थियो । ढोकाबाहिर एक अञ्जान व्यक्तिको जुत्ता थियो । लाग्यो– ‘भाइ आएछ बौद्धबाट ।’ मीनाले जुत्ता फुकालेर छोरी प्रमिलालाई तरकारी र फलफूल भित्र लैजान के भनेकी थिइन्, आँखा ढोकाभित्र पस्यो । र, त्यो पुरुषलाई चिनेझैँ लाग्यो ।

‘तँ फेरि कहाँबाट आइस् ? मेरो कोठामा आउने आँट कसरी गरिस् हँ, नामर्द ? मेरो कोठाबाट निस्किइहाल् तुरुन्तै,’ वर्षांैभरि उकुसमुकुस भई निसास्सिएर बसेका वेदना र आक्रोश मीनाले सकीनसकी पोखिन् । प्रमिला भने बाबा भन्दै सन्तसँग टाँसिएर बसिरहेकी थिइन् । मीनाले तरकारी र फलफूल भुइँमा थपक्कै राखेर छोरी खोसिन्– ‘कोसँग बसिराछेस् तँलाई था छ छोरी ? यो तँ र मलाई ज्यूँदै मार्ने पापी हो ।’ ८ वर्षीय अबोध प्रमिलालाई मीनाले बुवा विदेशमा छन्, पछि आउँछन् भनेकी थिइन् । प्रमिला त बुवा आएकोमा औधी खुशी थिइन् । साथीहरूलाई आफ्नो बुवा देखाउँछु भन्ने रहर पालेर बसेकी थिइन् । जुन रहर आज पूरा गर्न पाउँदा सबैभन्दा खुशी थिइन् । 

तर, जब मीनाले पापी भनिन्, बाबालाई किन यस्तो भन्नुभएको ममी ? विदेशबाट आउनुभएको बाबालाई त माया पो गर्ने हो भन्दै एकोहोरो रुन थालिन् । एउटी नारीसँग पुरुषको जस्तो कहाँ कठोर भावना हुन्छ र ? आमा भइसकेकी नारीसँग प्रेम र भावनाको गहिरो सागर हुन्छ । त्यसदिन प्रमिलाको मुख हेरेर सन्तलाई ‘पापी र निर्दयी’ पुरुषको संज्ञा दिँदै बास दिइन् । 

भोलिपल्ट छोरीलाई स्कुल पठाएपछि मीनाले सन्तसँग वारपारको कुरा गरिन् । ‘तँ हिजो पाहुना भएर बसिस्, आज पनि पाहुना नै होस् । तँ र मबीच कुनै सम्बन्ध छैन । आनन्दसँग बसिरहेको पोखरीमा ढुंगा हान्न अब नआइज,’ मीनाले भए भरका आक्रोश र वेदनाका शब्दले सन्तको मुखमा बुझो लगाइदिइन् । तर, सन्तले छोरी र श्रीमती लिन आएको र लिएरै जाने जिद्दी कसे । 

‘यतिञ्जेल छोरी र श्रीमती कहाँ छन् भनी नखोज्नेले के भनिस् रे...’ भन्दै सन्तमाथि मीना जाइलागिन् । जहाँबाट आएको हो, त्यही बाटो लाग्, नत्र प्रहरी बोलाएर ठेगान लगाउँछु भन्दै धारे हात देखाइन् । सन्तलाई लागेको रहेछ– छोरी र श्रीमतीलाई सजिलै फकाएर लैजान्छु । पुरुष आखिर पुरुष न रहेछ– ‘चाहिँदा चाहिँ भाँडो, नचाहिँदा चाहिँ ठाँडो ।’
 

टिप्पणीहरू