बेलायत आउन खोज्दा वरिष्ठकै भिसा रद्द

बेलायत आउन खोज्दा वरिष्ठकै भिसा रद्द

एनआरएनए युकेको स्पोन्सरसीपमा भिसा लिएर अर्कै समूहको कार्यक्रममा सहभागी हुन लागेका नेपालका कानुन व्यवसायीलाई फिर्ता पठाउन भिसा रद्द गरिएको छ । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले स्पोन्सर गरेर भिसा लिएका नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेसहित नेपाल बार एशोसिएसनका पूर्वमहासचिव तथा वरिष्ठ अधिवक्ता सुनील पोखरेलको भिसा बेलायती हाइ कमिसनमार्फत भाँडिएको हो ।

कानुन व्यवसायी घिमिरे र पोखरेललाई अध्यक्ष गाहामगरले गत ६ अगस्ट, २०२२ को वार्षिक साधारणसभामा प्रमुख वक्ताका रूपमा आउन ३ जुलाईमा बोलाएका थिए । तर, उक्त कार्यक्रम सकिइसकिएको अवस्थामा एनआरएनए युकेकै अर्को  समूहको कार्यक्रममा अहिले आउन लागेकाले आफूले नयाँदिल्लीस्थित ब्रिटिश हाइकमिसनका इन्ट्री क्लियरेन्स अफिसर र बोर्डर फोर्सलाई ९ नोभेम्बरमा पत्राचार गरेर भिजा रद्द गराएको गाहामगरले बताए । 

‘हामीले जुन प्रयोजनका लागि स्पोन्सर गरेका थियौँ, भिसा ढिलाइले त्यो कार्यक्रममा उहाँहरू आउन सम्भव भएन । अहिले अर्कै समूहको कार्यक्रममा आउन लागेको थाहा पाएपछि मैले कठोर कदम चालेको हुं’, गाहामगरले भने ।

उनले बोर्डर फोर्सलाई शनिबार १९ नोभेम्बर र दुवै अतिथिहरूलाई २० नोभेम्बर आइतबार इमेलमार्फत बेग्लाबेग्लै जानकारी दिइसकिएको जनाउँदै नेपालबाट आउन खोजे त्यसबाट पर्न सक्ने प्रतिकूल परिणामप्रति आफू जिम्मेवार नहुने पनि बताए । गाहाले मगरको झोक्की पारा देखाउँदै यदि लण्डन प्रवेश गर्न पाएर कार्यक्रममा सहभागी भए कार्यक्रमस्थलमै अध्यागमन कर्मचारीलाई बोलाएर पक्राइदिने चेतावनी पनि दिएका छन् । युवाहरू कार्यक्रमस्थलमा गएर प्रदर्शन गर्न पनि पछि नहट्ने चेतावनी गाहामगरको छ । ‘हामीले संस्था भत्काउने र अरु समूहको पक्षपोषण गर्ने व्यक्ति खोजेका होइनौं । त्यस्तो तत्वलाई नियन्त्रण गर्न कुनै कसर बाँकी राखिने छैन’, उनले भने ।

सुनिलबाबु खड्का खेमाले आउँदो २७ नोभेम्बरमा लण्डन साउथ ह्यारोमा गैरआवासीय नेपालीहरूको नेपालमा रहेको सम्पत्तिको स्वामित्व, उपभोग र स्वामित्व ग्रहण तथा हस्तान्तरण सम्बन्धमा रहेका कतिपय कानुनी अस्पष्टताका सन्दर्भमा छलफल गर्न एउटा कार्यक्रम गर्न लागिएको जनाएको छ ।

 

टिप्पणीहरू