मुलुकलाई कालोबाट सेतो बनाउन प्रधानमन्त्री कार्यालयमा कुदाकुद
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बिहान सम्पत्ति शुद्धिकरण राष्ट्रिय समन्वय केन्द्रको बैठक बस्यो । प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव धनराज ज्ञवालीको अध्यक्षतामा बसेको बैठकमा प्रभावशाली मन्त्रालयका सचिवलगायत विभिन्न निकायका प्रतिनिधिहरु सहभागी थिए ।
बैठकमा गृहसचिव विनोदप्रकाश सिंह, अख्तियारका सचिव डा. रामप्रसाद घिमिरे,अर्थ सचिव कृष्णहरि पुस्कर, परराष्ट्र सचिव भरतराज पौड्याल,प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालगायत थिए ।
अन्तर्राष्ट्रिय कालोसूचीबाट मुलुकलाई उन्मुक्ति गराउन भएभरका सचिवको उपस्थितिमा बैठक बसेको हो । आगामी सोमवारदेखि पुस १ गतेसम्म नेपाल आउन लागेको सोसम्बन्धी अन्तर्राष्ट्रिय टोलीसमक्ष गरिने बिफ्रिङको तयारीनिम्ति उक्त बैठक राखिएको बुझिएको छ ।
सम्पत्ति शुद्धिकरण व्यवस्थाको अनुगमन गर्ने एसिया प्यासिफिक ग्रुप (एपीजी) को टोली नेपाल आउने भएपछि सरकारी अधिकारीको दौडधुप चलेको स्रोतको दाबी छ । टोलीमा चीन,अष्ट्रेलिया, न्युजिल्याण्ड, फिलिपिन्स,माल्दिभ्स, बंगलादेश,श्रीलंकासहित सात देशका प्रतिनिधि रहनेछन् ।
टोलीले नेपालको सम्पत्ति शुद्धिकरणसम्बन्धी पछिल्ला कानुन,त्यसको कार्यान्वयन र संस्थागत अवस्था सबै हेर्ने भएकाले सरकारले आवश्यक तयारी गर्न थालेको हो । विदेशीहरुले यसबीचमा नेपालले उक्त विषयमा कति वटा मुद्दा चलायोदेखि कति असुल गर्यो भन्नेसम्मको विवरण यकिन गर्नेछन् ।
आगामी साता काठमाडौं आउने टोलीले तयार पार्ने रिपोर्ट आगामी जुलाईमा हुने एपीजीको बैठकमा पेश गर्ने कार्यक्रम छ । सोही बैठकमा नेपाललाई सम्पत्ति शुद्धिकरणको सवालमा कालो,खैरो वा रातो रंगको हैसियत दिएर कालोसूचीको मापन गरिनेछ ।
मुलुकलाई कालोसूचीबाट जोगाउन बस्ने गरेको बैठकमध्ये हिजो सिंहदरबारमा बसेको यो ११८ औं हो । पछिल्ला दिनमा यस्ता बैठकको रफ्तार बढेको बताइन्छ ।
यसैबीच झापामा सरकारले करोडको सम्पत्ति जफत गरेको बुझिएको छ । गृह मन्त्रालय मातहत रहेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागले जुनसुकै कसूरमा जफत भएको सम्पत्ति हेर्ने गरेको पनि एक जना सहभागीले बताए ।
टिप्पणीहरू