स्वतन्त्रले १ सीट पनि नजित्ने ओलीको भविष्यवाणी गलत सावित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएका कैयन भविष्यवाणी गलत साबित भएका छन् । 

उहाँले चुनावअघि एउटा अन्तरवार्तामा यसपालिको निर्वाचनमा स्वतन्त्र र राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि उम्मेदवारले जीत हासिल गर्न नसक्ने दाबी गर्नुभएको थियो भने कान्तिपुरका सम्पादकसङ्गको अन्तर्वार्तामा चाहिँ माओवादीले मुश्किलले ७ सीट मात्रै हात पार्ने उहाँको ठोकुवा थियो ।

जनता पहिलेभन्दा धेरै सचेत भइसकेको उल्लेख गर्दै उहाँले एउटा पनि स्वतन्त्रले नजित्ने बताउनुभएको हो ।

अन्तरवार्तामा उहाँले भन्नुभयो,‘यसपालिको निर्वाचनमा स्वतन्त्रमध्ये कुनैले पनि जित्दैन । एउटाले पनि जित्दैन । किनभने जनता सचेत भइसकेका छन् । यसो सानोतिनो हल्ला गरेर जनता अल्मलाउन सकिने अवस्था छैन ।’

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणामले यतिखेर अध्यक्ष ओलीका यी सबै अनुमानलाई गलत सावित गरेको छ । 

स्वतन्त्रहरु राम्रै मत ल्याएर विजयी भएका छन् भने माओवादी १७ सीटमा बिजयी भएको छ । जनतामा कति चेतना आएछ र कति सचेत भएछन् भन्ने कुरा चुनावको नतिजाले स्पष्ट पारेको छ । 

रवि लामिछाने नेतृत्वको पार्टीले प्रत्यक्षतर्फ सात सीट जितेको छ । त्यस्तै,रेशम चौधरीको पार्टीले ४ र स्वतन्त्रले पाँच सीटमा विजय हासिल गरेका छन् ।

टिप्पणीहरू