अबको समीकरणका अनेक अनुमान
यसपालि एकीकृत समाजवादीले कांग्रेसको मात्रै भोट पाएन, एमालेकै मतका साथ केही उम्मेदवारले जिते । यदि एमालेको भोट नपाएको भए रौतहटमा माधव नेपाल र बारामा किसान श्रेष्ठलाई जित्न गाह्रो हुने थियो । अर्कातिर, कांग्रेसले समाजवादी र माओवादीलाई छोडेको ठाउँमा तिनैले घण्टीमा भोट दिँदा एमालेले जितेको छ ।
त्यसमाथि उम्मेदवारी चयनमा त्रुटिले उसैलाई क्षति भएको देखिन्छ । बिर्तामोडमा घर किनेर २ नम्बरबाट उठ्ने तयारीमा पहिलेदेखि नै जुटेका अग्नि खरेललाई झापा–१ तिर ठेलियो । रविन कोइरालालाई उठाएर अग्निलाई अन्यत्र व्यवस्थापन गरिएको भए विश्वप्रकाश शर्माका निम्ति चुनाव भारी पथ्र्यो । प्रदेशको सभामुख बनाउने भन्दै रविनलाई तलबाट उठाइँदा न उनले जिते, न अग्निलाई मज्जा भयो । यो त एउटा उदाहरणमात्रै हो ।
ओलीले आफूले छानीछानी टिकट दिनुभएका र उहाँको सघन समूहमा पर्ने उम्मेदवारले खासै जितेनन् । जिते त योगेश भट्टराई, भीम आचार्य, ठाकुर गैरे, विष्णु पौडेलहरुले । योगेश, भीम, ठाकुरहरु त १० भाइभित्रका भए । आफ्नै समूहमा भएर पनि शंकर पोखरेलजत्तिको नजिकको नरहेका विष्णुले जित्नु, शंकरले हार्नु अपेक्षित नतिजा होइन । ओलीले योगेश, भीम, ठाकुर, सुरेन्द्र पाण्डेहरुलाई टिकट दिने इच्छा गर्नुभएको थिएन । तर, माधव नेपालको साथ छाड्नुअघि शीतल निवासले ‘परेको बेला म हुन्छु’ भनेका कारण र अहिले टिकट नदिइँदा त्यतैको साथ मिलेर उनीहरुले टिकट पाएका हुन् । नत्र, शीतल निवास नपुग्ने १० भाइ वा उनीहरुका पक्षधर नेतालाई विभिन्न किसिमले टिकट दिइएन ।
सुनसरी १ मा जयकुमार राईलाई जसपालाई दिनुपर्ने भनेर, घनश्याम भुसाललाई दीपक बोहोराको निम्ति भनेर टिकट दिइएकै थिएन । डा.दीपकप्रकाश भट्ट, भीम रावलसहित थुप्रैलाई वञ्चित गरियो । जबकि ती क्षेत्रमा उनीहरुलाई टिकट दिइएको भए एमालेले आफ्नो पक्षमा परिणाम निकाल्ने प्रवल सम्भावना थियो ।
अब ओलीका सामु चुनौति नै चुनौति छन् । सरकारमा जाने सम्भावना अत्यन्त न्यून छ । सरकारमा नजाने भएपछि, राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक अंगका नियुक्ति, राजदूत सबै अवसर खत्तम हुने भयो । यो स्थितिमा अवसर पर्खी बसेका कतिपय एमाले बुद्धिजीवी समाजवादीतिर जान सक्छन् । शायद, यही डरले होला, ओलीले समानुपातिकतर्फ समाजवादीको मत बढिरहँदा ‘अस्वाभाविक मत वृद्धि’ का नाममा फेसबुकको फण्डा चलाउनुभयो । तर, राष्ट्रिय पार्टी भएनछ नै भने पनि ह्वीप नलाग्ने, सांसदहरु स्वतन्त्रसरह हुने होइनन् ।
यता, एकीकृत समाजवादीले हिजो एमालेबाट छुटेर गएका राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङहरुलाई समावेश गर्न प्रयास गर्दा राम्रो हुने देखिएको छ । अहिलेको चुनावले उपेन्द्र यादवको मधेसवादी धार संकटमा परेको छ । त्यसलाई सिके राउतले मुठ्ठीमा लिएपछि नयाँ राजनीतिक भूमिकाबारे उपेन्द्रले सोच्ने बेला भएको छ ।
प्रश्न उठेको छ, एमालेभित्रै लडिरहेका भीम रावलहरुले के गर्लान् ? ईश्वर पोखरेलको असन्तुष्टि भयंकर छ, बोल्न सक्दैनन् । ईश्वरलाई ‘सर्भिच्युट एटिच्युड’ अर्थात्, ‘दास मनोबृत्ति’ का रुपमा चित्रित गर्ने गरिन्छ । घनश्याम भुसाल माओवादीतिर जाने सम्भावना बढी छ भनिन्छ । भीम रावलका लागि सहज हुने माधव नेपाल नै हो । सुरेन्द्र पाण्डेको जगमा झलनाथको कनेक्सन छ ।
टिप्पणीहरू