छोराछारी डाक्टर, इञ्जिनियर भएकालाई कसरी सुकुम्बासी भन्ने ?
राजधानीको थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा अस्ति काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि एकाएक हुलदंगा मच्चियो । सुकुम्बासीहरुले ढुंगामुढा गरे,आन्दोलन चर्काए । आक्रोशित सुकुम्बासीहरुले नाङ्गो खुकुरी नचाउन थाले ।
महानगर प्रहरी र सुकुम्बासीबीच झडप हुँदा बागमती किनार रणभूमिमा परिणत भयो । उक्त झडपमा पर्दा झण्डै तीन दर्जन महानगर प्रहरी घाइते भए । महानगरले जसरी भएपनि सुकुम्बासी बस्ती हटाउने घोषणा गरेको छ । यता,महानगरको निर्णयप्रति आक्रोशित सुकुम्बासीहरुले अनशन थालेका छन् ।
महानगर र सुकुम्बासीबीचको भिडन्तले ठूलो क्षति निम्त्याउने देखिएको छ । सुकुम्बासी बागमती किनार छाड्न तयार छैनन् । उनीहरु सुकुम्बासी र हुकुमबासी पहिल्याउन माग गरिरहेका छन् । सरकारले वैकल्पिक व्यवस्थापन नगरेको उनीहरुको गुनासो छ ।
तर,वैकल्पिक व्यवस्थापन गरिएको ठाँउमा उनीहरु जान मान्दैनन् । सुकुम्बासीहरुलाई आफ्नो टहरा भएको ठाँउको लालपुर्जा चाहिएको छ,जुन सरकारद्वारा अस्वीकार्य छ । सुकुम्बासी भनेर सरकारी जग्गा कब्जा गरी बस्नेमा हुकुमबासीहरु पनि रहेको पाइन्छ । सुकुम्बासीको नाममा उनीहरु सरकारी जग्गामा डेरा जमाएर बसेका छन् ।
सुकुम्बासी बस्तीमा यस्ता पनि व्यक्ति छन् जसको छोराछोरी डाक्टर, इन्जिनियर छन् । तर, उनीहरु कुनै पनि हालतमा सरकारी जग्गा छोड्न चाहँदैनन् । राजधानीमा घर भएको बताउनेहरु पनि सुकुम्बासीको नाममा बागमती किनारमा टहरा हालेर बसेका छन् । भन्छन्,‘छोरीछोरी डाक्टर छन्,गाडी छ तर म सुकुम्बासी हुँ ।’
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा एक महिलाले आफू ४० वर्षदेखि सुकुम्बासी बस्तीमा बसेको बताएकी छन् । आफूले हरेक दुःखकष्ट गरेर छोरीलाई डाक्टर पढाएको उनी बताउँछिन् । भन्छिन्,‘मैले भाँडा मोलेर पढाएँ,कुचो लगाएर पढाएँ । अहिले मेरो छोरी गाडी चढेर हिँड्छे । तर,ऊ सुकुम्बासी हो । उसको आमा सुकुम्बासी भएपछि छोरी सुकुम्बासी होइन ?’
उनले महानगरका मेयर बालेन्द्र साह र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिमाथि आक्रोश पोखेकी छन् । ४० वर्षअघि आफूहरु त्यहाँ आएर बस्दा सरकार के हेरेर बसेको थियो ? त्यतिखेर किन डोजर चलाइएन ? उनले मेयर साह र समितिलाई सोधेकी छन् ।
‘बागमती उनको बाउको हो ?’, उनले आक्रोशित हुँदै मेयर बालेनलाई प्रश्न गरेकी छन् । ती महिलाको यो भनाइको चर्को आलोचना भएको छ । एक जनाले लेखेका छन्,‘कुनै समय उहाँको अवस्था सुकुम्बासी थियो रे,अनि अब आजीवन सुकुम्बासी बनेर ऐलानी जमिन मिचिरहने त ? अब त म सुकुम्बासी रहिन,मेरा छोराछोरी ठाँउमा पुगिसके,अब मैले अतिक्रमण गरेको सरकारी जमिन छोडिदिन्छु भन्ने चेत नआउने रहेछ है मान्छेमा । धत् लाजमर्दो !’
त्यस्तै,अर्को सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्,‘प्रश्न जायज छ तर प्रश्न बालेनलाई होइन,तिनको भोट पाएर ४० औं वर्ष सत्तामा बस्ने पार्टीहरुलाई गर्नुपर्यो । डाक्टर भएर गाडी चढ्ने सुकुम्बासीचाँहि देखेको थिइन । आज साक्षात दर्शन भो ।’
सुकुम्बासीहरु सरकारले बनाइदिएको भवनमा गएर बस्न पनि तयार छैनन् । घर, गाडी र आम्दानीको स्रोत हुँदाहुँदै पनि उनीहरुले सरकारी जग्गामा रजाँइ गरेका छन् । उनीहरुको यस्तो सोचाइका कारण सरकार जबरजस्ती डोजर चलाउन बाध्य भएको बताइन्छ ।
आफूसंग जायजेथो हुँदाहुँदै सुकुम्बासी भनेर सरकारको सम्पत्ति मिचिरहनु गलत भएको जानकारहरुको बुझाइ छ । बागमती किनारमा बसोबास गर्दै आएकाहरु पटकपटक वास्तविक सुकुम्बासी छानबिन गर्न माग गर्दै आएका छन् ।
नेपाल राजपत्रमा उल्लेख भएअनुसार “‘भूमिहीन सुकुम्बासी’ भन्नाले नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जमिन नभएको र आफ्नो वा आफ्नो परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति सम्झनुपर्दछ र सो शब्दले निजप्रति आश्रित परिवारका सदस्यलाई समेत जनाउँछ ।’ डाक्टर, इन्जिनियरको बाबुआमालाई कसरी सरकारले सुकुम्बासी भन्ने ?
टिप्पणीहरू