काँग्रेस उपसभापतिले चुनावी प्रतिवेदन प्रचण्डलाई बुझाए
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न खड्का आज दिउँसो उहाँको निवास खुमलटार पुगेको जानकारी दिइएको छ ।
भेटमा निर्वाचनमा विजयी भएकोमा दुबैले बधाई साटासाट गरेको बताइएको छ । निर्वाचन सकेर खड्का हिजो सुर्खेतबाट काठमाडौं आएका हुन् । काठमाडौं आएलगत्तै उनी सोझै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएको बताइन्छ । खड्काले आज त्यही प्रतिवेदन प्रचण्डलाई पनि हस्तान्तरण गरेका छन् ।
प्रतिनिधिसभा तर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सीटमा झरेको छ । निर्वाचनमा कहाँ, के र कसरी काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको बताइन्छ । सत्तागठबन्धन दलले कर्णाली प्रदेशमा काँग्रेस उपसभापति खड्कालाई चुनावी कमाण्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
टिप्पणीहरू