झलनाथ खनाललाई एमालेको चेतावनी

झलनाथ खनाललाई एमालेको चेतावनी

नेकपा एमालेले गठबन्धनका उम्मेदवार एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेता खनाललाई पराजयपछि हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति नदिन एमालेको जिल्ला कमिटी, इलामले सचेत गराएको छ ।

निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै नेता खनालले देखाउनुभएको हर्कत लोकतन्त्रको मेरुदण्डमाथिको हमला भएको बताएका छन् । निर्वाचनमा भाग लिएर मतगणना शुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया संगत, विधिसम्मत्, निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैंमा अलोकतान्त्रिक प्रवृत्ति हो’, विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचन प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा एमालेका उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्रयाकिङ् गर्नु पराजित मानसिकताको पराकाष्ठा भएको कमिटीले आरोप लगाएको छ ।

साथै, नेता खनालले माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काएको, गोर्खेमा मतपेटिका साट्नेजस्ता दुष्प्रयास गरेको भनेर लगाउनुभएको आरोपप्रति पनि आपत्ति जनाइएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार खनाल एमालेका महेश बस्नेतसँग पराजित हुनुभएको हो । पराजयपछि उहाँले चुनावी परिणामलाई अस्वीकार गर्दै आउनुभएको छ ।

टिप्पणीहरू