दोलखामा आज पनि नाराबाजी

दोलखामा आज पनि नाराबाजी

दोलखामा आज भएको पुनः मतदानको क्रममा केही मतदानस्थलमा नाराबाजी भएको छ । पुतलीकाठ र मिर्गे बाहेक अन्यत्र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइएको छ । मंसिर ४ गतेको निर्वाचनमा बुथ कब्जाको उजुरी परेपछि दोलखाको बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर मावि नाम्दु, कालिढुंगा मावि मिर्गे, जनज्योति मावि पुतलीकाठ र तामाकोशी गाउँपालिकाको जफेस्थित जामुने मतदान केन्द्रमा आज पुनः मतदान भएको हो

चार मतदान केन्द्रका १० वटा बुथमा भएको पुनः मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताइए पनि पुतलीकाठ र मिर्गेमा भने केही तनाव उत्पन्न भएको हो । बैतेश्वर २ पुतलीकाठस्थित जनज्योति माविमा सामान्य झडप र उम्मेदवारको गाडी तोडफोड भएको छ । त्यस्तै एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा सामान्य झडप भएको हो । गठबन्धनको तर्फबाट प्रदेश सभा १ मा उम्मेदवार रहेका काँग्रेस नेता कुन्दनराज काफ्ले चढेको गाडीमा ढुंगामुढा भएको स्थानीय मतदाता रामहरी खड्काले बताए ।

यस्तै, बैतेश्वरकै मिर्गेस्थित कालिढुंगा मतदान केन्द्रमा पनि नाराबाजी भएको छ । पुतलीकाठमा काँग्रेस उम्मेदवार काफ्लेको गाडीमा ढुंगामुढा प्रहार भएपछि मिर्गेमा काँग्रेसका कार्यकर्ताले एमाले उम्मेदवारविरुद्ध नाराबाजी र अवरोध गरेका हुन् ।

दिउँसो मिर्गे मतदान केन्द्रमा पुगेका एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीविरुद्ध काँग्रेस कार्याकर्ताले नाराबाजी समेत गरेका थिए ।

टिप्पणीहरू