सीके राउतको दौडादौड

सीके राउतको दौडादौड

जनमत पार्टीका अध्यक्ष तथा सिरहाबाट निर्वाचित सांसद सीके राउतको व्यस्तता हिजो र अस्ति राजधानीमा देखियो । अस्ति नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको घर पुगेका राउतले हिजो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् । 

हिजै उनी खुमलटार पनि पुगे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताको निम्ति उनी हिजो अबेर खुमलटार पुगेका थिए । थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएको उक्त दलको तर्फबाट प्रत्यक्षतर्फ उनी मात्रै सांसद हुन् । जनमत पार्टीले समानुपातिकतर्फ चार सीट ल्याउनसक्ने अवस्था देखिँदैछ ।

यही गठबन्धनले गठन गर्ने आगामी सरकारमा सहभागी हुन राउतले सहमति जनाइसकेको बालुवाटार र खुमलटार निकटस्थहरुको दाबी छ । मधेश प्रदेशमा समेत राउतको पार्टीसँग गठबन्धन नगरी सरकार गठन गर्न सकिने अवस्था छैन ।

टिप्पणीहरू