नेकपा एकीकृत समाजवादीलाई ‘थ्रेसहोल्ड’ कटाउन १५ हजार नपुग्ने

नेकपा एकीकृत समाजवादीलाई ‘थ्रेसहोल्ड’ कटाउन १५ हजार नपुग्ने

दोलखा,स्याङ्जा र बाजुरामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार हालसम्म समानुपातिकतर्फ १ करोड ३ लाख मत गनिएको छ । यो आधारमा अब थ्रेस होल्ड कटाउन न्यूनतम ३ लाख ३ हजार मत आवश्यक पर्छ । मत संख्या बढ्दै जाँदा थ्रेस होल्डको आधारमा प्राप्त हुने मत पनि धेरै आवश्यक पर्ने हुन्छ । 

निर्वाचन आयोगका अनुसार तीन स्थानको मत गनिसक्दा समानुपातिकतर्फ १ करोड ५ लाख मत पुग्न सक्ने अवस्था  छ । त्यसो हुँदा राजनीतिक दलहरुले ३ लाख १५ हजार मत पुर्याउनैपर्छ । यसको निम्ति थोरै मतको आवश्यकता रहेको नेकपा एकीकृत समाजवादीलाई सबैभन्दा धेरै घाटा पर्ने बताइन्छ ।

आयोगका एक जना अधिकारीले भने, ‘एकीकृत समाजवादीले ३ प्रतिशत कटाउन मुश्किल देखिँदै गएको छ । एक हजार मत गन्दा मुश्किलले ५० देखि १०० मत पाएको छ । स्याङ्जामा उसले बढीमा एक हजारदेखि १५ सय पाउलाजस्तो छ ।’

उता बाजुरामा भने प्रदेशतर्फको एक सीटमा एकीकृत समाजवादीका उम्मेदवारले जित्ने देखिन्छ । तर उम्मेदवार नरेश शाहीले आफूलाई एक भोट भनेर मागेकाले पार्टीलाई समानुपातिक मत नआएको बताइन्छ । जबकि बाजुरामा माओवादीको भोट निकै कम र काँग्रेसको बर्चस्व देखिएको छ ।
 
‘त्यहाँ उम्मेदवार जित्ने तर पार्टीले समानुपातिकमा एक हजार भोट आउने सम्भावना बढेको छ,’ उनै आयोगका अधिकारीले भने ।

 
यता दोलखामा हिजो भएको मतदानमा जम्माजम्मी तीन हजार हाराहारीमा भोट खसेको छ । तर समानुपातिकमा कलम चिन्हलाई भोट कम आएको मतगणनाको प्रारम्भिक परिणामले देखाएको छ ।

आज साँझ वा भोलि बिहानसम्म सबैतिर गनिसक्दा एकीकृत समाजवादीको २ लाख ९८ हजारदेखि ३ लाखसम्म मत पुग्ने आकलन छ । यसो हुँदा उक्त पार्टीलाई १५ हजार भोट अपुग हुनेछ । त्यसबाट गठबन्धनले कम्तिमा चार सीट गुमाउने अवस्था बन्दै गएको छ ।

 

टिप्पणीहरू