विद्यार्थी समातिएपछि धनगढीमा तनाव

धनगढी उपमहानगरपालिका–५ मा ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि शुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । हसनपुर–पिपलचौतारा सडकखण्ड कालोपत्र गर्ने क्रममा हिजो ग्रेडरले कुल्चिएर बालिकाको ज्यान गएको थियो । 

ग्रेडर चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयहरु सडकमा ओइरिएका छन् । प्रहरीले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको उनीहरुको आरोप छ । प्रहरी र स्थानीयबीच झडप भएको छ । 

धनगढीमा यतिखेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । निषेधाज्ञाका बाबजुद पनि स्थानीयहरुले चर्को आन्दोलन गरेका छन् । प्रदर्शनकारीहरुले ‘जिल्ला प्रशासन मूर्दावाद’, ‘न्याय पाउनुपर्छ’, लगायतका नाराबाजी गरेका छन् । उनीहरुले पक्राउ परेका विद्यार्थीलाई तुरुन्त रिहाइ गर्न माग गरेका छन् । 

पक्राउ परेका विद्यार्थीलाई सम्झाउने,बुझाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएका छन् । यता, मृतक १५ वर्षीया बालिका चेतना साउदको शव प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ । 

कालिका कन्ट्रक्सनको ना.१क ९७५ नम्बरको ग्रेडरले कुल्चिँदा साउदको मृत्यु भएको थियो । पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत उनको ग्रेडर ब्याक गर्ने क्रममा ज्यान गएको बताइन्छ । 

साइकलयात्री साउदको घटनास्थलमा मृत्यु भएपछि प्रहरीले २७ वर्षीय चालक विमल कुमाललाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू