लिङ्देन दाजुभाइसँग चुनाव हारेका डम्बर

लिङ्देन दाजुभाइसँग चुनाव हारेका डम्बर

प्रसंग झापाको हो । २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका रवीन्द्र लिङ्देन हल्दिबारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । गाउँपालिका उपाध्यक्ष बने एमालेका डम्बरबहादुर गिरी । त्यस कार्यकालमा यी दुईबीच खासै सहकार्य हुन सकेन । उपाध्यक्ष गिरीले अध्यक्ष लिङ्देनलाई खुब असहयोग गरे । गाउँपालिकाको बोर्ड वैठक र गाउँसभामा अनेक लफडा गरे । पत्रकार सम्मेलन गरेरै गाउँपालिकाले गरेका राम्रा कामको सबै जस आफूले लिए ।

गाउँपालिकाका मतदाताले यसको हिसाब राम्रैगरी राखेका रहेछन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा गिरीले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिए । यता लिङ्देनले पनि दोस्रो कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेदवारी दर्ता गराए । मतदाताले एमालेका गिरीलाई पराजित गर्दै राप्रपाका लिङ्देनलाई नै दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष चुने । गिरीलाई  २ हजार १ सय ९० मतान्तरले हराउँदै पुनः निर्वाचित बनेका लिङ्देन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनका सहोदर भाइ हुन् ।

वैशाखमा सम्पन्न निर्वाचनबाट गाउँपालिका अध्यक्षमा हारेपछि गिरी केही महिना चुपचाप थिए । तर, यसपटक प्रतिनिधिसभा निर्वाचनमा उनले अर्को फण्डा गरे । गाउँपालिकामा रवीन्द्र लिङ्देन (भाइ)सँग पराजित गिरी प्रतिनिधिसभा निर्वाचनमा राजेन्द्र लिङ्देन (दाजु)सँग भिड्न कस्सिए । झापा क्षेत्र नम्बर–३ मा लिङ्देनलाई यसपटक पनि एमालेले सघाउने निर्णय गरेपछि गिरी त्यसको विरोधस्वरुप बागी उम्मेदवार बनेका हुन् । गिरी एमालेका जिल्ला स्तरका कार्यकर्ता थिए ।

तर, राजेन्द्र लिङ्देनसँग चुनाव लड्न उनले जरिवाना नै तिर्नुपर्‍यो । गाउँपालिकाको निर्वाचनमा रवीन्द्रसँग चुनाव हारेपछि गिरीले निर्वाचन कार्यालयमा चुनावी खर्च विवरण बुझाएकै रहेनछन् । खर्च विवरण बुझाउने म्याद सकिएपछि गिरी जरिवानामा परेका हुन् । खर्च विवरण नबुझाउनेले जरिवाना रकम नतिरेसम्म फेरि उम्मेदवारी दिन पाइँदैन । प्रतिनिधिसभा निर्वाचनमा भिड्नका लागि उनले निर्वाचन कार्यालय गएर जरिवाना तिरेर मात्र उम्मेदवारी दर्ता गराएका थिए ।

लिङ्देनलाई पराजित गर्छु भन्दै गिरीले बागी उम्मेदवारी दिएपछि उनको उम्मेदवारी फिर्ता गराउन एमालेले केही प्रयत्न गरे पनि असफल रह्यो । गिरी फोन बन्द गरेर बसिदिए । एमाले झापाले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै निकालेको विज्ञप्ति जारी गर्‍यो ।

स्वतन्त्र उम्मेदवारी दिएका गिरीले ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह पाए । मिडियाहरुमा अन्तरवार्ता दिन थाले । लिङ्देनलाई चुनावमा सहजै पराजित गर्ने दावी गरे । चुनावमा यसपटक केपी ओलीबाट टिकट नपाएर रन्थनिएका एमाले नेता भीम रावलले पनि गिरीलाई समर्थन जनाए । तर, मतपरिणामअनुसार गिरीले एक हजार मत पनि ल्याउन सकेनन् । उनको जमानत नै जफत् भयो । राप्रपा अध्यक्ष लिङ्देनले ४० हजार ६६२ मत ल्याएर सांसद् निर्वाचित हुँदा गिरीले ७३५ मतमा चित्त बुझाउनु पर्‍यो ।

खसेको कुल मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । जमानत जफत् गिरी अब के गर्ने योजना बनाउँदै होलान् ?

टिप्पणीहरू