अशोक राईको जितमा धरानले खोजेको सपना
-विराट अनुपम
पञ्चायतकालमा धरानतिर संगठन बनाएर हिँडेका अशोक राई अहिले धरान र आसपास क्षेत्र समेटिएको सुनसरी क्षेत्र नम्बर १ बाट सांसद भएका छन् । ०३३ सालमा कोअर्डिनेशन केन्द्रको तर्फबाट अमृत बोहराले दिएको कम्युुनिष्ट पार्टीको सदस्यता लिएका अशोक माले बनेपछि मदन भण्डारीजस्ता हस्तीसँग यही क्षेत्रमा रहेर संगठन निर्माणमा जुटेका थिए । उनले ०३८ ताकादेखि जनआन्दोलनसम्मै काम गरे । धरान क्षेत्रमा जमेका उनै अशोक राईले उनीसमेतको नेतृत्वमा आएको बहुदलको चुनावमा भने धरान रोजेनन् र खोटाङतिर उक्लिए । २०४८ र २०५१ सालमा अशोक राई खोटाङबाट चुनिए । २०५१ को प्रथम कम्युनिष्ट सरकारमा यातायात राज्यमन्त्रीसमेत बने ।
यस्तो लिगेसी बोकेका अशोक राईले ०५६ को चुनाव भने मालेबाट उदयपुरबाट उठ्दा हारे । ०६४ को संविधानसभा चुनाव पनि उदयपुरबाटै हारे । ०७० सालको दोस्रो संविधानसभामा एमालेबाट अलग भएका नेताहरूबाट बनेको संघीय समाजवादीको समानुपातिक सांसद भएर सदन छिरेका अशोक राईले २०७४ मा धरान रोजे । तर, २०३८ देखि नै धरानसँग प्रत्यक्ष र सक्रिय राजनीतिक सम्बन्ध जोडिएका अशोक राईलाई धराने मतदाताले भने रोजेनन् । आफ्ना जुनियर पूर्वकार्यकर्ता जयकुमार राईसँग २२ हजारको मतान्तरले हारे । नेपाली कांग्रेससँगको तालमेलमा भएको चुनावमा हारेको ठीक पाँच वर्षपछि उनी जसपाले नेकपा (एमाले)सँग तालमेल ग¥यो । यसले अशोक राईलाई देखिने फाइदा पुग्यो । घण्टीको देशभर र धरानमा पनि दबदबा देखिएको बेला उनले सहज जित निकाले ।
कांग्रेस र माओवादीलगायत पाँचदलीय सत्ता गठबन्धन तेस्रो हुँदा अशोकले प्रथम हुन पाए ।
०५१ म यातायात राज्यमन्त्री, ०५३ सालको लोकेन्द्रबहादुर चन्द सरकारमा संसदीय व्यवस्था राज्यमन्त्रीदेखि ०६१ को देउवा सरकार स्वास्थ्यमन्त्री भएका अशोक राईले दोस्रो जनआन्दोलनपछिका सरकारमा बस्न पाएका छैनन् । यसबीच, राज्यसत्ताको पदमा नगए पनि उनी पार्टी सत्तामा भने अझै अग्लिएका छन् । एमाले छाड्नुअगाडिका निर्वाचित केन्द्रीय उपाध्यक्ष अशोक अहिले जसपाको संघीय परिषद अध्यक्ष छन् । उनले आफ्ना अध्यक्ष उपेन्द्र यादवले बिजोग प्रदर्शन गरेर हारेको समयमा चुनाव जितेर आफ्नो सामथ्र्य देखाएका छन् ।
अशोक राईलाई धरानले मत दिएर पठाउने विभिन्न कारण छन् । एक कारण त धरानले खोजेको राष्ट्रिय स्तरको हेभिवेट नेताका लागि पनि हो । कुनै बेला पूर्वको स्वप्न शहरको रूपमा चिनिएको धरानले अहिले आफ्नो ग्ल्यामर गुमाउँदै आएको छ । खेलकुद, साहित्य, संगीत, कलादेखि प्राज्ञिक क्षेत्रमा धरानले नेतृत्व गर्दै आएको जस्तो विगत अहिलेको धरानको छैन । पूर्वाधारमा पूर्वकै अब्बल शहर मानिने धरानलाई अहिले धरानभन्दा कान्छा पूर्वका शहरहरू इटहरीदेखि बिर्तामोडले कतिपय क्षेत्रमा उछिन्न थालेका छन् ।
शिक्षा र स्वास्थ्यका निम्ति पूर्वको प्रमुख मुकाम भन्ने धराने चिनारी क्रमशः घट्दो क्रममा छ । व्यापारिकदेखि औद्योगिक चलहपल घटेको छ । राष्ट्रिय गौरवका परियोजना यो ठाउँ केन्द्रित बनेकै छैनन् । किमाथांका–जोगबनी सडकदेखि मदन भण्डारी राजमार्गको ट्रान्जिटबाहेक अरु राष्ट्रिय गौरवका आयोजनाको गन्तव्यकै कोणमा धरानमा कुनै परियोजना छैनन् । कुनै बेला लाहुरेको शहर भनेर चिनिने धराने चिनारी पनि लाहुरेहरूको पलायनसँगै पलायन भएको छ ।
सबैभन्दा समस्या त पानीको छ । सुकुम्बासीको छ । कुनै बेला सार्वजनिक–निजी साझेदारीमा बनेका चिल्ला सडकले चिनिएको धरान अहिले आसपासका छिमेकी शहरभन्दा साँघुरो सडक भएको शहर भनेर चिनिन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस, पिण्डेश्वर क्याम्पस आदिले पुरानो बिरासत धान्न सकेका छैनन् । कुनै बेला यातायातदेखि टेलिकम हुँदै अदालतका प्रमुख धराने अड्डा अहिले इटहरी र विराटनगर सरेका छन् । धरानको सार्वजनिक निजी साझेदारीका गेम चेञ्जर आयोजना आउन सकेका छैनन् । दशकौँ बन्ने कुरा भएर नबनेको विमानस्थलदेखि बसपार्क धरानका स्थायी तनाव हुन् ।
धरानलाई नै स्वप्नशहर बनाएर गन्तव्य बनाउन चाहने पूर्वेलीको आयतन सानो बन्दै गएको छ । धरानभन्दा धेरै कान्छो इटहरीले आन्तरिक आम्दानीदेखि जनसंख्यालाई जितिसक्यो । विराटनगर त धेरै अगाडि छ । यी र यस्ता धेरै कुराले धरान अहिले नयाँ आगतमा आशावादी हुनेभन्दा गुमेको बिरासत सम्झेर नोस्टाल्जिक बढी छ । धरानले संसददेखि क्याबिनेटसम्म आवाज बुलन्द गर्ने अनुहार खोजेको छ । कुनै बेला मनमोहन अधिकारीलाई जिताएर प्रधानमन्त्री बनाएको धरानले अशोक राईलाई जिताएर पनि केही न केही केन्द्रीय हैसियत बनाउन खोजेको छ ।
राज्यसत्ताका महत्वपूर्ण ओहोदाका आयोजनामा धराने अनुहार आओस् भन्ने धराने चाहना देखिएको छ । त्यसैको प्रकटीकरण अशोक राईले पाएको जितको जनमत हो । धरानको गुमेको बिरासत फर्काउन राष्ट्रिय नेताको रूपमा गर्नुपर्ने सबै कोणका सकारात्मक र देखिने पहल अशोक राईबाट होस् भन्ने धराने मतदाताको चाहना छ । अशोक राईको जितमा धरानले आफ्नो पुनर्जागरणको सपना लेपन गरिदिएको छ । त्यसमा कत्तिको न्याय गर्छन् त्यो प्रतीक्षाको विषय छ ।
कसरी बिग्रियो बैतडीमा गठबन्धन ?
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धन दलका उम्मेदवार गुल्टिनुमा अनेक कारण देखिएका छन् ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्र कुँवर ‘विजयसुन्दर’ र नेपाली कांग्रेसबाट प्रदेश सभा (क) का उम्मेदवार वीरबहादुर बिष्ट पराजित हुनुमा कांग्रेस र माओवादीभित्रैको अन्तरघात मुख्य मानिएको छ ।
०६४ सालको संविधानसभा निर्वाचन २७ हजार १३० भोट प्राप्त गरी प्रतिस्पर्धीलाई तेब्बर मतले हराउँदै जितेका कुँवरले करिब १५ सय मतले पराजित हुनुभएको छ । ०७९ मा एमालेका दामोदर भण्डारीले ३३ हजार ६११ मत ल्याएर जित हासिल गर्दा माओवादीले ३२ हजार ८० मत प्राप्त गरेर उपविजेता बनेको छ ।
गठबन्धनका साझा उम्मेदवारलाई हराउन नेपाली कांग्रेस बैतडीका पूर्वसभापति एवं सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, पुरचौडी नगरपालिकाका मेयर दीपक बमलगायतले भूमिका खेलेको आरोप छ ।
प्रतिनिधि सभामा सिगास गाउँपालिकाबाट एमाले उम्मेदवारलाई २ हजार ६३० मत आएको छ भने नरेन्द्र कुँवरले २ हजार १६० मत प्राप्त गरेका छन् । त्यसैगरी, वीरबहादुर बिष्टलाई १२ सय ७६ मत र कांग्रेसका बागी उम्मेदवार हरिमोहन भण्डारीलाई १७ सय ८८ मत मिलेको छ ।
प्रदेश सभा (ख) बाट भने नेपाली कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट छानिएका छन् । यहाँ एमालेका उम्मेदवार लीलाधर भट्ट पराजित बनेका छन् । लीलाधरलाई पराजित गर्न एमालेकै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको हात रहेको चर्चा छ ।
माननीयको वडाबाट आउने हो त जम्मा ११ मत ?
समानुपातिक उम्मेदवारको सूचीमा रहनुभएकी माओवादी केन्द्रकी नेत्री रेणु चन्दले आफ्नो वडा बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट समानुपातिकतर्फ जम्मा ११ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, बैतडी क्षेत्र नं. (क) बाट २०७४ सालको प्रदेश सभा निर्वाचन विजयी माओवादी केन्द्रका नेता प्रेमप्रकाश भट्ट (आदित्य) को वडाबाट समानुपातिकमा जम्मा ५० भोट मात्रै आएको छ ।
नेत्री रेणु चन्द अवसरका लागि मात्रै बैतडी आउने तर अधिकांश समय काठमाडौंमा बिताउने गरेको स्थानीय माओवादी नेताले बताए । माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट ठेक्कापट्टा हात पार्नमै व्यस्त हुँदा संगठन धरापमा परेको चर्चा छ ।
०७४ सालको प्रदेशसभा निर्वाचनमा बैतडी क्षेत्र नं.(क) बाट १८ हजार ९३ मत पाएर निर्वाजित भएका प्रेमप्रकाश भट्ट (आदित्य) डोजर किनेर ठेक्कापट्टा हात पार्न व्यस्त रहेपछि पार्टी लथालिंग भएको एक नेताले आरोप लगाए ।
‘माननीय भएर पनि पार्टीका लागि आफ्नो वडाबाट ५० मत ल्याउन नसक्नेलाई कसरी नेता मान्ने?’ ती नेताले भने, ‘सर्वहारा पार्टीका नेताको जीवनशैली दलाल पुँजीपतिको जस्तो छ ।
टिप्पणीहरू