पुराना दलमा अपेक्षित आत्मज्ञान
राष्ट्रिय स्वतन्त्र पार्टीको संविधान र लोकतन्त्रप्रतिको स्पष्ट धारणा आएको छैन । पार्टी घोषणापत्रमा संवैधानिक समाजवाद अर्थात् समाजवादोन्मुख संविधानवादका दिशामा मुलुकलाई अगाडि बढाउने भन्ने अमूर्त भाषा मात्र प्रयोग गरिएको छ, पार्टीको खास राजनीतिक दर्शन वा वाद के हो भन्ने बुझिएको छैन । धर्मनिरपेक्षताप्रति पनि तिनका कोही नेता बोलेजस्तो लाग्दैन । सङ्घीयताको एक मुख्य खम्बा प्रदेशसभा निर्वाचनमा त उसले भाग नै लिएन । जन्मेको ६ महिना पनि नपुगेकाले सो पार्टीको खास विचार महाधिवेशनमा मात्र आउला ।
नागरिक उन्मुक्ति पार्टीको उद्देश्य आफ्ना कारागारमा परेका नेता रेशम चौधरीको रिहाइ नै होला । सात वर्षअघि भएको टीकापुर काण्डका दोषी चौधरीको मुक्तिपछि पार्टी अर्काे ढङ्गले जाला, अहिले केही भन्न सकिन्न । जनमत पार्टी कुनै बेला मुलुक टुक्य्राउने उद्देश्यले गठन भएको र केपी शर्मा ओली सरकारसँग भएको सम्भmौतापछि शान्तिपूर्ण राजनीतिमा लागे पनि पार्टीको घोषणापत्रमा हाल सङ्गठन बढाउन लाग्ने र पछि मधेशी राज्य नै स्थापना गरिने नीति नै उल्लेख गरिएको छ । हाल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उभार आएको भनिएका नयाँ दलहरूको सालाखाला परिचय र उद्देश्य यिनै हुन् ।
विसं २०६२ । ६३ को आन्दोलनविरुद्ध धरमर रूपमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी र आन्दोलनमा दवावकारी भूमिका खेलेको राप्रपा नेपालमध्ये राप्रपा स्पष्ट रूपमा राजतन्त्र र हिन्दूधर्मवादी दल हो । त्यसअघि त दर्जनौँ पटक कति पटक फुटे, फुटे, विभाजितबाट पनि अर्काे टुक्रा हुने गरी धेरै फुटे । चुनावकै मुखमा पनि फुटे, गीता–तामा–तुलसी छोएर नफुट्ने कसम खाँदा पनि फेरि विभाजित हुन तिनलाई कत्ति शरम लागेन । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)को सहयोगमा प्रत्यक्षतर्फ एक स्थान जितेको सो दल प्रत्यक्षमै अहिले सात स्थानमा उक्लिनु र समानुपातिक मतबाट पौने दर्जन थप सांसद चुनाउन सक्ने क्षमता हुनुलाई मतदाताहरूको ७० वर्ष पुराना दलहरूप्रतिको अविश्वास र असन्तुष्टि नै मान्नुपर्छ ।
शासनमा रहेका प्रजातन्त्रवादी–साम्यवादी दलहरूको अक्षमताको लाभ दक्षिणपन्थी दलहरूले लिनु स्वाभाविक हो । यसैले राजावादीहरू, हिन्दूवादीहरू हौसिएका छन्, यसमा बालेन र रास्वपाले पनि साथ दिएको ठानिएको छ । यसबाट फेरि राजतन्त्र ब्युँतिने मानिएको छ तर यही संविधान मान्ने हो भने राजा र राजतन्त्र फर्काउन संसद्को दुई तिहाइ चाहिन्छ भन्ने पनि तिनले बुझेका छन् । खासमा जनताले तिनसँग धारा, पानी र सडक नै मागेका हुन्, रोजगारी, शिक्षा र स्वास्थ्य नै मागेका हुन् । तिनले स्थापित पुराना दल यसरी नै बिग्रने हो भने चाहिँ आफूहरूलाई राजा चाहिन्छ होला भनेका हुन् । आखिर राजा आए पनि यसै देशमा, यही हावापानीमा, यिनै प्रशासन–सेना–प्रहरी– अदालतबाट नै हुन् चलाउने । हाम्रो प्रशासन र अदालत कसरी चलेको छ देखिहालियो । उनलाई पनि फोहरको डङ्गुरमा फेरि अर्काे शासन चलाएर अझै बदनाम हुनु छ र ?
बरु बदनाम वामपन्थी भएका छन्, जो अब मुलुकमा समाजवादी स्वर्ग आउनै लागेको कुरा गर्थे, जसले आफ्ना शासनमा रुस–पूर्वी युरोप–चीन–क्युबा बिर्साउने कुरा गर्थे, ब्राजिल र भेनेजुयलाको आगमन सम्झाउन खोज्थे, पुष्पलाल, मनमोहन, नरबहादुर, तुलसीलाल, मदन, मोतीदेवीको आत्माले शान्ति पाएको कुरा गर्थे, लेनिन र माओले रुस र चीनबाट आफूहरूलाई आशीर्वाद दिइरहेको बताउँथे । यिनलाई जनताप्रतिको आफ्नो दायित्वको आत्मज्ञान छैन, लोकलाजको पर्वाह पनि छैन । फुट्नुमा नै मनोरञ्जन लिने यिनको बदनामी बजारमा सुनिनसक्नु छ ।
कांग्रेस पनि नफुटेको होइन, तर जुटेपछि धेरै क्षति हुने गरी छुट्टिएर जाने कमै थिए । उसले भारत–अमेरिका–युरोपेली युनियन सबैसँग मिल्न– मिलाउन जानेको छ, वामपन्थीलाई खेलाउन जानेको छ, आफूआफूमै जति पेलपाल भए पनि फुट्न चाहिँ हुन्न भन्ने ब्रह्मज्ञान जानेको छ । त्यसैले त प्रतिनिधिसभा विघटन हुँदा पनि तीनथरी वामपन्थी माके, एस र राजमो प्रधानमन्त्री पद सुनको किस्तीमा राखेर देउवाकहाँ लतारिँदै गए । देउवा वामपन्थीबीचको विघटनबाट हौसिएकै थिएनन्, उनी आफ्नै बहुमतको सरकार आरामसँग चलाउन पाउने अवसरका खोजीमा मात्र थिए ।
अब बहुमत कसैको नआएपछि मुलुक अस्थिरताको खाडलमा त जाकियो, जाकियो । त्यसो भनेर अन्तजस्तो तुरुन्त चुनाव गर्ने चलन हामीकहाँ छैन । जसोतसो त्रिशङ्कु सरकार त चल्छ नै, चलाउनैपर्छ पनि । नेपाली जनता गरीबी, अभाव, महँगी, बेरोजगारी, अशान्ति र हिंसामा पनि बाँच्न सक्ने जातका हुन् । यिनका भागमा शान्तिसँग बाँच्ने लेखेकै छैन क्यार । वामपन्थीहरूमा स्थिर सरकार दिन सक्ने तागत छैन भन्ने त देखिहालियो । बरु सरकार जसले चलाए पनि पालैपालो प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, मुख्यमन्त्री आदि खाएर मुलुकलाई स्थिरता र शान्ति तथा जनतालाई सुख र हाँसो दिन सक्ने होस् । पाँच वर्षको रमिता अब जो हेर्नु छ ।
टिप्पणीहरू