स्वाट्ट घटे आदिवासी,जनजाति, दलित र महिला सांसद

स्वाट्ट घटे आदिवासी,जनजाति, दलित र महिला सांसद

मंसिर ४ गते सम्पन्न निर्वाचनको हालसम्मको परिणामले प्रतिनिधि सभामा महिला,दलित र जनजाति समुदायको उपस्थिति फिक्का हुने निश्चित देखाएको छ । यस पटक सबैभन्दा मारमा दलित र महिला परेका छन् । 

प्रतिनिधि सभामा १६५ सिटमध्ये करिब २० प्रतिशत आदिवासी जनजातिको उपस्थिति हुनेछ । प्रतिनिधि सभा सदस्यमा ३२ जना आदिवासी–जनजातिबाट निर्वाचित भएका छन् । जसअनुसार तेह्रथुम–१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ र मुस्ताङ–१ मा योगेश गौचन थकाली छन् ।

यस्तै भोजपुरमा सुदन किराँती, खोटाङमा रामकुमार राई, काभ्रेपलाञ्चोक–१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्वमा पूर्णबहादुर घर्तीमगर, रोल्पामा वर्षमान पुन, हुम्लामा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन् । डोटीमा प्रेमबहादुर आले, बारा–४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पामा धनबहादुर बुढा, दैलेखमा अम्मरबहादुर थापा विजयी भएका छन् । झापा–१ मा राजेन्द्रप्रसाद लिङ्देन, सुनसरी–१ मा अशोककुमार राई, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र कैलाली १ बाट रञ्जिता श्रेष्ठ पनि निर्वाचित भएकी छन् ।

उता धनकुटा–१ बाट राजेन्द्रकुमार राई,पाँचथरबाट वसन्तकुमार नेम्वाङ,सोलुखुम्बुमा मानवीर राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका छन् । सिराह–३ बाट लीलानाथ श्रेष्ठ, काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङबाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ पनि विजयी भएका छन् ।

यस पटकको निर्वाचनमा नौ जना महिला मात्रै निर्वाचित भएका छन् । यो भनेको ५ प्रतिशत मात्र हो । संसदमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनमा नेपाली काँग्रेसबाट एक,नेकपा (एमाले) बाट चार, नेकपा (माओवादी केन्द्र) बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । 

एमालेबाट धनुषा क्षेत्र नम्बर ३ मा जुलीकुमारी महतो, कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई, बारा क्षेत्र नम्बर ३ बाट ज्वालाकुमारी साह र सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट भगवती चौधरी पनि निर्वाचित भएका छन् । यस्तै दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा र तेह्रथुमबाट काँग्रेसकी सीता गुरुङ विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा डा.तोसिमा कार्की र काठमाडौँ क्षेत्र नम्बर  २ बाट सोबिता गौतम सांसद चुनिएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ माननीय भएकी हुन् ।
 

प्रतिनिधि सभामा निर्वाचित महिला ५ प्रतिशत मात्र हुँदा दलित समुदायबाट संसदमा प्रतिनिधित्व गर्ने साँसद पनि एक जना मात्रै हुने अवस्था छ । नेकपा (एमाले) का छबिलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुने एक मात्र दलित समुदायका सांसद भएका छन् । यसले संसदमा दलितको उपस्थिति झन् नाजुक देखाएको छ । 

२०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा छ सय एक जनामध्ये ५१ जना दलितको प्रतिनिधित्व थियो । यो उपस्थिति आठ दशमलव ४८ प्रतिशत हो । २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलित सांसदको प्रतिनिधित्व ४१ जना थियो । त्यो भनेको ६  दशमलव ८२ प्रतिशत हुन आउँछ । 

त्यसैगरी २०७४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १९ जना दलित माननीयको प्रतिनिधित्व थियो । यो संख्या कुल प्रतिनिधि सभाका सदस्यमध्ये ६ प्रतिशत हो । यद्यपि यस पटक समानुपातिक सूचीतर्फको निधो हुन भने अझै बाँकी छ ।

टिप्पणीहरू