२२ गते आइसक्ने भनिएको अन्तिम निर्वाचन परिणाम २६ गतेसम्म धकेलिने

२२ गते आइसक्ने भनिएको अन्तिम  निर्वाचन परिणाम २६ गतेसम्म धकेलिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सकाउने दाबी गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले निर्वाचन कार्य मंसिर २६ गतेसम्म सबै सकाइने बताउनुभएको हो । 

सोमबारसम्म सबै मतगणना सम्पन्न हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘२२ गतेसम्म दलहरुसँग पत्राचार भइसक्छ । त्यसको लागि तीन दिन लाग्ने र पत्र प्राप्त भएको दुई दिनभित्रमा आयोगले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बुझाउने भनेका थियौं ।’ 

तर यसअघि २२ गतेको म्यादमा सबै काम नसकिने निश्चित भएको हो । त्यसैले आयोगले २६ गतेको नयाँ भाखा तय गरेको बताइन्छ । एउटा अर्को सन्दर्भमा प्रमुख आयुक्तले आगामी दिनमा अब निर्वाचन एकै चरणमा गर्न सकिने मान्यता स्थापित भएको बताउनु भएको छ ।

आफूहरु वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको उहाँको भनाइ छ । ‘हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गरिनुपर्छ भनेर व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानून निर्माणको प्रक्रिया प्रवेश गर्नेछ ,’उहाँले भन्नुभयो ।

टिप्पणीहरू