रवि लामिछानेको पासपोर्ट र नागरिकता खोज्न प्रहरीलाई गृहको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादमा आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको छ ।
चुनावअघि नै लामिछानेको नागरिकता र राहदानीको विवादलाई लिएर निर्वाचन आयोगमा उजुरी परेको थियो । तर आयोग यो मामिलामा टक्टकिएपछि गृहको आदेशमा यता जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौँलाई आवश्यक छानबिन गरी यथार्थ पत्ता लगाउन भन्दै पत्र पठाएको हो ।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका लामिछानेमाथि अमेरिकी नागरिकता नत्यागी वा पुनः नेपाली नागरिकता नलिई उम्मेदवारी दर्ता गराएको आरोप छ । सो सम्बन्धमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निवेदनसमेत परेको थियो ।
निर्वाचन आयोगले २४ घण्टा,३ दिनको पनि भाका नराखी चुनाव सकिएपछिसम्म बाटाका म्यादबाहेक ७ दिने स्पष्टिकरण सोधेको र उनले स्पष्टिकरण बुझाए पनि आयोगले थप प्रक्रिया अघि बढाएको थिएन । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जिल्ला प्रहरी कार्यालय, काठमाडौँबाट पत्र आएको बताए । उनले भने-अब हामी यो प्रक्रिया अघि बढाउँछौँ ।
टिप्पणीहरू