बालुवाटार र खुमलटारमा राष्ट्रपतिमा रहर गर्नेहरुको बथान

बालुवाटार र खुमलटारमा राष्ट्रपतिमा रहर गर्नेहरुको बथान

चुनाव सकिनु र नयाँ सरकार बन्न लाग्नु-यस्तो बेला प्रधानमन्त्री निवास बालुवाटार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा फेरि राजनीतिक भेटघाट बाक्लिन थालेको छ । हिजो बिहानदेखि साँझसम्म ती दुबै स्थानमा विभिन्न दलका नेता र मन्त्रीहरुको आउजाउ निकै भएको देखियो ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मध्यान्ह आधा घण्टा भेटवार्ता भयो । त्यसपछि प्रधानमन्त्रीसँग भेट्न गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बाल्कोटको सन्देश लिएर जानुभयो । प्रधानमन्त्री र गुरुङबीच दिउँसो १ बजेको समयमा आधा घण्टा कुराकानी भएको बताइन्छ । 

उता ललितपुरको खुमलटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चीन जाने क्रममा उपमहासचिव वर्षमान पुनले दिउँसो विदाइ भेट गर्नुभयो । खुमलटारबाट निस्केपछि निवास पुगेर पुन विमानस्थलतर्फ जानुभएको हो । 

हिजै बिहान अध्यक्ष दाहालसँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र खेलकुदमन्त्री महेश्वरजंग गहतले भेट गर्नुभएको बताइन्छ । उहाँहरुले बिहान ८ बजेदेखि झण्डै एक घण्टा बातचित गर्नुभएको थियो । 

दिउँसो ४ बजेपछि अध्यक्ष दाहालसँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल,नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण), माओवादी महासचिव देव गुरुङ्ग, नेता लीलामणि पोखरेल र भूमिव्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठबीच कुराकानी भयो । उक्त भेटघाट साँँझ ६ बजेसम्म चलेको थियो ।

अस्ति सिन्धुपाल्चोकको सुकुटेमा प्रशस्त समय बिताउनुभएका सभामुख अग्निप्रसाद सापकोटाले पनि हिजो अध्यक्षलाई भेट्नुभएको छ । राष्ट्रपति बन्न उहाँ पनि इच्छुक हुनुहुन्छ भनिन्छ । खुमलटारमा अध्यक्ष भेट्न साँझ ६ बजेपछि उहाँ एक्लै जानुभएको हो ।

टिप्पणीहरू