नयाँ सरकार गठनमा माओवादी जोसुकैसँग गठबन्धन गर्न तयार
प्रधानमन्त्री पदका निम्ति कस्सिएको नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा उक्त पद दिन तयार जोसुकैसङ्ग लचकता अपनाउने छनक दिएको छ । सत्तारुढ गठबन्धनको सरकारले निरन्तरता पाउने सम्बन्धमा माओवादीको हिजो दिउँसो बसेको बैठकपछि यस्तो आशंका उत्पन्न भएको हो ।
प्रवक्ता कृष्णबहादुर महराले चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा वर्तमान गठबन्धन छाड्ने निर्णय नगरिए पनि नयाँ सरकार जोसुकैसँग मिलेर गठन गर्न सकिने विकल्पलाई खुल्ला राखेको उल्लेख गर्नुभएपछि राजनीतिक तरंग उत्पन्न भएको छ । उहाँले भन्नुभयो, ‘गठबन्धन छाड्ने भन्ने होइन,तर विकल्प सोच्न सकिने भन्ने विषयमा छलफल भएको छ ।’
कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा डाकिएको बैठक पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, प्रवक्ता महरालगायत दुई दर्जनको उपस्थिति थियो ।
टिप्पणीहरू