मदन भण्डारीका "गुरुजी" (भाइ हजुर)को देहावसान
०४६ साल भदौको चौथो सिराहा महाधिवेशनबाट महासचिव निर्वाचित र चर्चित जननेता मदन भण्डारीलाई खुल्ला राजनीतिमा आएदेखि दासढुङ्गा दुर्घटनामा दुखद निधन नहुन्जेलसम्म रातो टोयोटा कार (बा अ च ७६५४) बाट स्वेच्छाले डेरा,अफिस लाने-ल्याउने काममा सम्लग्न लिटनजङ्ग थापा "भाइ हजुर" बित्नुभएको छ । काठमाण्डौ वडा नं १ नक्साल भगवती बहालको मन्दिर पछाडि बस्ने उहाँ स्वर्गीय चन्द्रजंग थापाका नाति, मेनारजंग थापा र गगनकुमारी थापाका कनिष्ठ पुत्र साथै नेमेन्द्रजंग थापाका भाइ र सोमेन्द्रजंग थापाका काका हुनुहुन्थ्यो,उहाँको आज १३ औं दिनको पुण्यतिथि हो ।
२०४६ सालको जनआन्दोलनकै दौरान लड्दा लड्दै पुतली सडकको प्रहरी घेराबाट मुक्त गरी मलाई नक्सालस्थित आफ्नो घरमा लैजाने भाइ हजुरसंग न त चिनजान थियो न कुनै नाता नै । तर पनि उहाँसँगको लामो उठबस सम्झनलायक छ । त्यसबेला म डल्लुस्थित कन्चनजंघा बोर्डिङ स्कूलमा कार्यरत थिएँ । त्यसबेला तात्कालिन मालेका मदनकुमार भण्डारी र जीवराज आश्रितलगायत नेताहरु पार्टी सन्चालनको लागि आउने,बस्ने र खाने ठाऊँ त्यही स्कूल थियो । त्यतिबेला मेरो सबैसंग भेटघाट र उठबस थियो । मदन र जीवराज कमरेड धेरै जसो त्यहीँ रहनुहुन्थ्यो । मसंग त्यतिबेला ९० सि. सि. को सानो रातो होण्डा मोटरसाइकल थियो, त्यही मोटरसाइकलबाट मदन कमरेड र म पार्टी कामको सिलसिलामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा संगै जाने गर्दथ्यौँ । उहाँ ७० / ७५ किलो,म भने ४०/४५ किलोको मान्छे । संगै हिंड्दा उहाँ भन्नुहुन्थ्यो “ओई केटा,तेरो गाडी उनार (बयलगाडा) होला नि ? कति विस्तारै हाँकेको ? अलिक यसको कान बटार न "आदि इत्यादी म भन्थेँ, “ढिला गए ठाऊँमा पुगिएला, छिटो गए भन्न सकिन्न”अनि उहाँ हाँस्नुहुन्थ्यो । पार्टी निर्माणका दौरान हामीसंग धेरै साथी जोडिनु भयो । उहाँहरुमध्येका नक्साल मालिगाऊँ निवासी अच्युतप्रसाद न्यौपाने, नक्साल चारढुङ्गा निवासी कृष्णनिधि तिवारी,नक्साल भगवती मन्दिरसंगै रहनुहुने लिटनजंग थापाजी अब यो धर्तिमा रहनु भएन तर अहिले पनि त्यो टिममा रहनुहुने नक्साल चारढुङ्गे निवासी अनिलकुमार मानन्धर,सोही स्थानका भरतलाल श्रेष्ठ छन् र स्वयं म छँदैछौं ।
२०४७ सालमा मदन कमरेड खुल्ला भइसकेपछि भने सुरक्षालाई ख्याल गर्दै उहाँको अनिच्छाका बाबजुद गाडी प्रयोग गर्नुपर्ने स्थिति आउँदा मेरो असाध्यै घनिष्ठ साथी हुनुभएको कारण मैले थापाजीलाई प्रस्ताव गरेँ, मेरो प्रस्ताव सहर्ष स्वीकार गरी उहाँको गाडी सन्चालनमा ल्याइयो तर दुई-चार दिनपछि नै ड्राइभरबाट हुँदैन, म आफैँ चलाउँछु भन्न थाल्नुभयो । मदन कमरेड रहेसम्म कहिले कार त कहिले जीपमा उहाँ नै हिंडिरहनु भयो । धेरैले विभिन्न आरोप प्रत्यारोप गरे तर मदन कमरेडले एक कानले सुन्ने र अर्को कानले उडाउने मात्र गर्नुभयो । झण्डै झण्डै ६०/६५ जिल्लामा हामीलाई मदन कमरेडसंगै हिंड्ने, बस्ने र खाने अवसर प्राप्त भयो । उहाँको हत्यापछि केही समय हालका महामहिम राष्ट्रपति बिध्यादेवी भण्डारीज्यूलाई पनि यो सुविधा उहाँले नै दिनुभयो । जब बिध्यादेवी भण्डारी मालीगाऊँ छाडेर चाबहिल बस्न पुग्नुभयो त्यसपछि म पनि मामा प्रदिप नेपालसंगै बस्न पुगें भने थापाजी आफ्नो घर कम्पाउण्डभित्र सिमित रहनु भयो । त्यो समय थापाजी आफू बसेको घर र केही जग्गा पार्टीलाई दिन चाहनुहुन्थ्यो । प्रस्ताव पनि राख्नुभयो तर मदन कमरेडले मान्नु भएन । त्यसैगरी मदन कमरेडले राष्ट्रिय सभामा लैजान्छु भन्दा पनि थापाजीले मान्नुभएन बरु पार्टी इतिहासमा लामो समय काम गर्ने साथीहरुलाई यो पद दिए म त्यसैमा खुशी हुनेछु भन्नुभयो । उहाँले त्यसो भन्दा मदन कमरेड मुसुमुसु हाँसी मात्र रहनुभयो ।
मदन कमरेडसंगको त्यो सामिप्यताले गर्दा नै होला अहिले पनि थापाजीको भतिज सोमेन्द्रलगायत जंग खलक नेकपा एमालेकै सहयोगी,शुभेच्छुक, शुभचिन्तक भएर सतिसाल झैं उभिरहनुभएको छ । उच्च र सम्पन्न वर्गको हुँदाहुँदै पनि जंग थापाहरुको सिङ्गो परिवारलाई कम्युनिस्ट पार्टीको झण्डामुनी गोलबद्ध गर्न सफल लिटनजंग थापा (भाइ हजुर) लाई १३ औं दिनको पुण्य तिथिमा पुनः भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,सबैको जय होस् ।
सुरेशप्रसाद निरौला,मदन-आश्रित स्मृति प्रतिष्ठान
(गोठाटार,काठमाण्डौ )
टिप्पणीहरू