नेकपा एसले एक सीट पनि जित्दैन भन्ने कर्णबहादुरको खोजी

नेकपा एसले एक सीट पनि जित्दैन भन्ने कर्णबहादुरको खोजी

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा बाजुराबाट हिजो पराजित कर्णबहादुर थापाले नेकपा एकीकृत समाजवादी पार्टीका बारेमा गर्नुभएको भविष्यवाणी असत्य साबित भएको छ ।  चुनावअघि प्राइम टेलिभिजनद्वारा सञ्चालित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उहाँले माधवकुमार नेपालको पार्टीले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सीट पनि नजित्ने दाबी गर्नुभएको थियो । 

नेकपा एसले एउटा सीट जित्यो भने आत्मालोचना गर्ने उहाँको ठोकुवा थियो । समाजवादीका उम्मेदवारले जित्दै नजित्ने उल्लेख गर्दै उहाँले जितेको खण्डमा सोही कार्यक्रममा आएर माफी माग्ने घोषणा गर्नुभएको थियो । 

अन्तरवार्तामा उहाँले भन्नुभयो,‘माधवकुमार नेपालको पार्टीले एउटा सीट जित्यो भने मैले आत्मआलोचना गर्नेछु । मैले गलत कुरा बुझेछु । मैले राजनीति बुझेको रहेनछु । मैले नेपाल बुझेको रहेनछु । नेपालको जनमत बुझेको रहेनछु भन्दै शीर निहुराएर म गलत भएको स्वीकार्नेछु ।’

थापा आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिनुभएको छ । आफ्नो जीतको चिन्ताभन्दा अरुको हारमा रमाउने भन्दै उहाँको विरोध भइरहेको छ । समाजवादीले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ १० सीटमा बाजी मारेपछि उहाँको खोजी गर्न थालिएको छ । उहाँलाई कार्यक्रममा ल्याएर माफी माग्न लगाउने भन्दै कार्यक्रम प्रस्तोता ऋषि धमला कस्सिएका छन् । 

१९ सीटमा उम्मेदवारी दिँदा समाजवादीले १० सीट जितेर समानुपातिकबाट भने ३ प्रतिशतको थ्रेस होल्ड कटाउन सकेन । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर,बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट कृष्णकुमार श्रेष्ठ, रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट माधवकुमार नेपाल,डोटीबाट प्रेमबहादुर आले,बझाङबाट भानुभक्त जोशीलगायतले चुनाव जितेका छन् ।

टिप्पणीहरू