सत्ताले दुत्कारेर जनताले मन पराएको यौटा जिउँदो पत्रकार

सत्ताले दुत्कारेर जनताले मन पराएको यौटा जिउँदो पत्रकार

नयाँदिल्ली टेलिभिजन (एनडीटीभी) इण्डियाका सम्पादक रविशकुमारले जिम्मेवारीबाट राजीनामा दिएपनि आमसञ्चार र सामाजिक सञ्जालमा चर्चामै छन्। उनले भारतीय सञ्चार संसारमा समर्थकभन्दा धेरै आलोचक जन्माएका छन् । उनी जनपक्षीय पत्रकारिता गर्छन् । 

पत्रकार रविशकुमारप्रति भारतीय जनता तथा दक्षिण एसियाली दर्शक,श्रोताको बहुतै प्यार छ । उनी टेलिभिजनमा नदेखिए पनि एउटा फोटोमार्फत् अहिले सामाजिक सञ्जालमा छाइरहेका छन्। उनका समर्थकहरूले उनको नाम ‘अटो रिक्सा’मा लेखेका छन्। 

‘रविशकुमार,एनडीटिभी इण्डिया र प्राइम टाइम’ लेखिएको फोटो नयाँ हो या पुरानो,त्यो थाहा छैन। तर आजभोलि भाइरल छ। दर्शक,श्रोताले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘प्राइम टाइम’को याद गरिरहेका छन् ।

भारतीय सत्तासँग उनी कहिल्यै बिकेनन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई निरन्तर प्रश्न सोधिरहे । रविशकुमारको शैलीमा ‘गोदी मिडिया’ भनेर चिनिने ‘भारतीय मोदीभक्त मिडिया’ उल्टै उनलाई पत्रकारिता सिकाउँथे । 

सामाजिक सञ्जालमार्फत् रविशकुमारलाई सत्तासीन भारतीय जनता पार्टीका नेता,कार्यकर्ताहरू ज्यान मार्नेसम्मको धम्की दिन्थे । तर उनी आजसम्म आफूले गरिरहेको लोकपत्रकारिताबाट पछि हटेनन्। बरू आम नागरिकमाझ निखारिएर भिजिरहे । 

राज्यको नजरमा भारतविरोधी देखिए पनि जनताको साथ पाइरहे । सम्भवतः उनी छिट्टै मूलधारको मिडियामा देखिने छन्। विगतझैँ हिन्दू राष्ट्रवादी मोदीतन्त्रलाई प्रश्न सोधिरहनेछन् ।

टिप्पणीहरू