अनलाइन यसरी बढेको रहेछ जनार्दनको भोट

अनलाइन यसरी बढेको रहेछ जनार्दनको भोट

अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधिसभा सदस्यमा रुकुम पश्चिमबाट चौथो पटक शानदार जीत हासिल गर्नुभएको छ । माओवादी शान्तिप्रक्रियामा आएका सबै चुनावमा रुकुमबाट शानदार मतका साथ संसद छिर्नुभएका शर्माले निरन्तर विजयको विरासत कायम गर्दै आउनुभएको छ । उहाँले हरेक चुनावमा मत बढाउनुभएको छ । 

यस्तो छ भोटको तथ्यांक :

पहिलोपटक २०४८ सालमा तत्कालीन जनमोर्चाबाट चुनावी मैदानमा होमिनुभएका शर्माले नेपाली कांग्रेसका गोपालजीजंग शाहसँग करिब ११ सयको मतान्तरले पराजित हुनुपरेको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि संसदीय चुनावमा सहभागी हुनुभयो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा २२ हजार ५७५ मत ल्याएर विजयी हुनुभयो । ४० हजार ६७२ मत खसेकोमा ३९ हजार ५३१ मत सदर हुँदा उहाँले ५७.११ प्रतिशत मत पाउनुभएको थियो ।

त्यसपछि ०७० सालको दोश्रो संविधानसभा चुनावमा ४९ हजार ०७९ मत खसेको र ४७ हजार ८५५ मत सदर हुँदा शर्माले ३० हजार २७० मत ल्याएर विजयी हुनुभयो । यो कूल सदर मतको ६३.२५ प्रतिशत हो । २०६४ को चुनावमा भन्दा ७ हजार ६९५ मत बढी हो । त्यसैगरी, २०७४ सालको चुनावमा ५५ हजार ४८५ मत खसेकोमा ५१ हजार ९१५ मत सदर भयो ।

जसमा शर्माले ३४ हजार ४०२ मत प्राप्त गरेर तेस्रो पटक विजयी हुनुभयो । कूल सदर मतको यो ६६.२७ प्रतिशत हो । २०७० को निर्वाचनमा भन्दा ४ हजार १३२ मत बढी आएको थियो । त्यसैगरी २०७९ मंसिर ४ को चुनावमा रुकुम पश्चिममा ६० हजार १११ मत खसेमध्ये ५७ हजार २९५ सदर भयो । शर्मा ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभयो । सदर मतको यो ६९.०३ प्रतिशत हो । २०७४ को चुनावमा भन्दा यो चुनावमा शर्माले ५ हजार १४७ मत बढी ल्याउनुभएको छ । 

०६४ र ०७० सालमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार हुनुभएका शर्मा ०७४ सालको चुनावमा नेकपा एमालेसँगको गठबन्धनबाट र ०७९ मा लोकतान्त्रिक—वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएको हो ।

टिप्पणीहरू