ओलीकै कारण सुदूरपश्चिममा दुई सिट मात्रै
एमाले अध्यक्ष केपी ओलीले टेकेको भुइँमा जहिल्यै पराजय हुने परम्परा सुदूरपश्चिममा फेरि दोहोरिएको छ । उनले छोरी भन्ने निरु पाल, गौरी ओली, कमला ओली, भेट्रान लेखराज भट्ट मात्र होइन राष्ट्रवादी देखाउन दार्चुला पुगेको क्षेत्रसमेत एमालेले गुमाउनु परेको छ । पाल कञ्चनपुर‐३, गौरी–डोटी, भट्ट–कैलाली‐४ बाट प्रतिनिधि सभा र कमला ओली कैलाली क्षेत्र नं. १ को प्रदेश सभा १ मा पराजित हुन पुगेका छन् ।
ओलीले टेक्यो कि गयो भन्ने मान्यता सुदूरपश्चिममा छ । चुनावका बेला ओली दुईपटक सुदूरपश्चिम आएका थिए । बैतडीमा पनि गए तर त्यहाँ कांग्रेसका बागी हुँदा प्रतिनिधि सभामा दामोदर भण्डारी र प्रदेशमा सुरेन्द्र पाल विजयी भए । कांग्रेसको एकल उम्मेदवारी परेको बैतडीको अर्को प्रदेश सीटमा भने एमालेका बहालवाला सदस्य लीलाधर भट्टको हार भयो ।
ओली अर्का निकट पात्र कर्णबहादुर थापा उम्मेदवार रहेको बाजुरा पनि जान खोजेका थिए । तर, कर्णले जवाफ पठाए ‘म भएपछि तपाईं किन चाहियो, आमसभा गर्नलाई मान्छे जुटाउन र खर्चको जोहो गर्न गाह्रो हुन्छ ।’ त्यही बाजुरामा कांग्रेस र एमालेले एकअर्कालाई बुथ कब्जा गरेको भन्दै फेरि चुनावको निवेदन हालेका छन् । बाजुरा पुगेर फर्केको निर्वाचन आयोगको टोलीले मंगलबार दिउँसोसम्म चुनावबारे निर्णय लिएको छैन ।
त्यहाँको त्रिवेणीमा प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ता सञ्जीव ऐडी मारिएका छन् भने एमालेको कारण सञ्जीव मारिएको भन्दै सुतेका अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन ऐडीलाई घरबाट निकालेर कुटेपछि उनको पनि ज्यान गएको छ । सञ्जीवको ९ दिन र चेतनको १२ दिनपछि दाहसंस्कार गरिएको छ ।
चेतनका श्रीमतीसहितको परिवारले कुटेर मार्ने भए, बचाउनुस् भनेर प्रहरीदेखि एमालेका नेतालाई गुहार्दा पनि कोही आएनन् । घरनजिकै चुनावका लागि खटिएर स्कूलमा बसेको सुरक्षा फौजले पनि बचाउने प्रयास गरेन ।
स्थानीय चुनावमा पनि ओली आएका सबै स्थानीय तह कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, कैलालीको धनगढी र लम्कीचुहालगायत नगरपालिकामा एमालेले हार व्यहोर्नुपरेको थियो ।
टिप्पणीहरू