कार्वाही गर्न हेडक्वार्टरले तान्ने,प्रधानमन्त्री निवासले छिर्के हान्ने

कार्वाही गर्न हेडक्वार्टरले तान्ने,प्रधानमन्त्री निवासले छिर्के हान्ने

सशस्त्र प्रहरी बल नेपालले भारतसँगको सीमा क्षेत्रमा खटिएका इन्स्पेक्टर, डिएसपी र एसपीहरुलाई इमान छाडेर घुस बटुलेवापत कार्वाहीनिम्ति काठमाडौंको हलचोकस्थित मुख्यालयमा बोलाएको छ । "केही विषयमा बुझ्न भन्दै सीमा सुरक्षा विभागमा यथासक्य छिटो उपस्थित हुन अस्ति पत्र पठाइए पनि ती केही दिनमै चोखिएर ठाउँमै फर्कने निश्चित छ ।"जानकार श्रोत भन्छ ।

विभागले तीन जना एसपी,दुई जना इन्सपेक्टर र दुई जना सईलाई वयानका लागि बोलाएको हो । जसमा २६ नम्बर गण हेड क्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक रुपकुमार क्षेत्री,१३ नम्बर गण हेडक्वार्टर पर्साका तेजप्रसाद पोखरेल र १२ नम्बर गण हेडक्वार्टर बाराका राजेन्द्र थापा छन् । यीमध्ये पोख्रेल बोलाइने र फर्काइनेमा पर्दछन् । कोषराज वन्त र शैलेन्द्र खनालका पालामा अत्यधिक मोज गर्नेमध्येका हुन् ।

त्यसैगरी,सशस्त्र प्रहरी निरीक्षकहरुमध्ये बीओपी बरैनिया,बाराका सुमन ढुंगाना,बीओपी भुजहवा पश्चिम नवलपरासीका रामहरि श्रेष्ठ पनि छन् । सशस्त्र प्रहरी नायव निरीक्षकहरुमा बीओपी अरपट्टी,पर्साका श्यामबहादुर मग्राती र बीओपी अलौ,पर्साका एकबहादुर चौंलागाईं हेडक्वार्टर बोलाइएकामध्येमै पर्दछन् । 

यीमध्ये रामहरि श्रेष्ठ प्रधानमन्त्री शेरबहादुरको निवास बूढानीलकण्ठमा तीन वर्षदेखि खटिएको टोलीमा पुरस्कारस्वरुप तीन महिनाअघि ज्यानको साइज नमिल्दा पनि भनसुनबाट पश्चिम नवलपरासीको बीओपी भुजहवामा खटाइएका थिए । शुरुका दिनदेखि नै उठ्तीमा संलग्न भएको आरोप श्रेष्ठमाथि लाग्दै आएको बताइन्छ ।

त्यसैगरी एसपी तेजप्रसादलाई पनि बारम्बार कारवाहीको निम्ति हेडक्वार्टर तानिने र विभिन्न शक्तिकेन्द्रको आडमा मालदार ठाउँमा फर्काइने गरिँदै आएको छ । उनलाई विशेषगरी विभागले कारवाही गर्ने तर बालुवाटार र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीको आडमा रोजेको स्थानमा खटाइने गर्दा सशस्त्रको चेन अफ कमाण्ड भुत्ते भएको हाकिमहरुको बुझाइ छ । सोही क्रममा दार्चुला काण्डमा संलग्न त्रिभुवन बिष्टलाई झन् मालदार ठाउँ भनेर परिचित कैलालीको टिकापुर पठाइएको छ ।

टिप्पणीहरू