मधेशमा सिके राउतले खोजे मुख्यमन्त्री

मधेशमा सिके राउतले खोजे मुख्यमन्त्री

मूलधारकाे राजनीतिमा आएर पहिलाे पटक चुनावमार्फत राष्टृय पार्टीमा दर्ज हुन लागेकाे सिके राउत नेतृत्वकाे जनमत पार्टीले मधेश प्रदेश सरकारकाे नेतृत्व पाउनुपर्ने माग राखेको बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई चुनावमा हराएर सप्तरीबाट राजधानी हान्निएका सिके अहिले सत्तागठबन्धनसँग सत्ताराेहणकाे हिसाबकिताबमा ब्यस्त भइरहँदा उनकाे दलले मधेश प्रदेश सरकारमा मुख्यमन्त्री मागेकाे श्रोतको दावी छ । जनमत पार्टीले प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेकाे छ ।

पुराना दलले मधेशकाे माग सम्बाेधन गर्न नसकेकाले नेतृत्वमा नयाँ अनुहार खाेजेकाे   बताउँदै जनमतले सत्ता गठवन्धनसँग मधेश प्रदेश सरकारकाे नेतृत्व आफूले पाउनुपर्ने दावी गरेकाे हो । मूलधारकाे राजनीतिमा आउनुअघि उनी देश टुक्रयाउने मुद्दासहित मधेशमा सकृय थिए ।


१ सय ७ सदस्यीय मधेस प्रदेशसभामा ६४ जना प्रत्यक्ष निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा एमाले प्रत्यक्षतर्फ १५ सिट जितेर सबैभन्दा बढी सिट जित्ने दल बनेको छ । मधेश प्रदेशसभामा कांग्रेसले १३,जसपाले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट जितेकाे छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका ४-४ जना निर्वाचित भएका छन् । मधेस प्रदेशसभामा ६ जना भने स्वतन्त्रबाट विजयी भएका छन् । 

सत्ता गठवन्धनका सबै दलले मधेश प्रदेश सरकारकाे नेतृत्व दावी गरिरहेका छन् । प्रत्यक्षमा १३ सिट जितेकाे नेपाली कांग्रेसले मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी गरेकाे छ । ४ - ४ सिट जितेकाे समाजवादी र माओवादी केन्द्रले पनि मुख्यमन्त्री दावी गरेकाे बताउँदै एमालेका मधेश प्रदेश सांसद रामचन्द्र मण्डल भन्छन् - "पहिलाे दल भएकाे नाताले एमालेले पनि मुख्यमन्त्री दावी गर्ने भैगयाे । " 

एमालेसँग चुनावी गठबन्धन गरेकाे जसपाले पनि एमालेसँगकाे सहकार्य चुनावसँगै सकिएकाे उद्घाेष गरेर मधेश प्रदेश सरकारकाे नेतृत्व दावी गरेकाे छ । जसपाले मधेश प्रदेशसभामा ९ सिट जितेकाे छ । सत्ता गठवन्धनकाे एक घटक ७ सिट जितेकाे लाेसपाले समेत प्रदेश सरकारकाे नेतृत्व दावी गरेकाे एमाले नेता मण्डलले बताए । 

"प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ । त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ । स्वतन्त्र ६ सांसद पनि मधेसको सत्ता समीकरणमा निर्णायक हुन सक्छन् ।"

 

मधेश प्रदेश सरकार गठनका लागि ५४ सांसदकाे आवश्यकता पर्छ । सत्तागठवन्धन,जसपा र जनमत मिलेकाे खण्डमा प्रदेश सरकार गठनका लागि याे सँख्या सहजै पुग्ने छ । तर सबै दल सरकारकाे नेतृत्व गर्न तँछाड मछाड गर्दा यसकाे फाइदा एमालेले उठाउन सक्छ । तर एमालेलाई सरकार गठन गर्न सजिलाे भने देखिँदैन ।

अहिले जसपा - लाेसपा गठवन्धनकाे सरकार रहेकाे मधेश प्रदेशमा सिके राउतकाे जनमत पार्टी नयाँ सरकार गठनका लागि चाबीकाे रूपमा रहेकाले पनि उसले प्रदेश सरकारकाे नेतृत्व दावी गरेकाे बताउँछन् एमालेका प्रदेश सांसद रामचन्द्र मण्डल । भन्छन् , मधेशमा लाेसपाले कांग्रेस नेतृत्वकाे सरकार स्वीकार गर्दा जनमत , जसपा र स्वतन्त्र उम्मेदवारहरू एमालेकाे पक्षमा आउनेमा हामी आशावादी छाैँ । " 

मधेस प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट नटुंगिए पनि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ । प्रत्यक्षतर्फ २९ सिट जितेको सत्ता गठबन्धनले समानुपातिकतर्फ करिब २० सिट ल्याउने आकलन गरिएको छ । प्रत्यक्षतर्फ २२ सिट जितेको एमाले–जसपा–राप्रपा गठबन्धनले समानुपातिकमा १९ सिट पाउने आकलन गरिएको छ । त्यसैगरी प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा करिब ४ सिट पाउने देखिन्छ । प्रदेशसभाको सत्ता समीकरणको अंकगणित मिलाउन जनमत पार्टीको सिट संख्या निर्णायक हुने देखिन्छ ।  स्वतन्त्र ६ सांसद पनि मधेसको सत्ता समीकरणमा निर्णायक हुन सक्छन् ।

मुख्यमन्त्रीमा क-कसकाे दाबी ? 

सत्ता गठबन्धनको सरकार बन्ने अवस्था आएमा कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दावेदार हुन् । संविधानसभा सभासदसमेत रहेका यादव रौतहट १ (२) बाट निर्वाचित भएका थिए ।  उनीबाहेक प्रदेशका पूर्वमन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षत्री पनि मुख्यमन्त्रीका आकांक्षी हुन् । 

एमालेले भने मुख्यमन्त्रीकाे उमेदवार आधिकारिक रूपमा निर्णय नगरेपनि महाेत्तरीबाट निर्वाचित प्रदेश सांसद सराेजकुमार यादव आफू दाबेदार रहेकाे बताउँछन् । यादव एमाले महाेत्तरीका ईञ्चार्ज तथा केन्द्रीय सदस्यसमेत हुन् । जसपाले चाहिँ  सत्ता गठबन्धनसँग निकटता बढाउँदै हालका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तरता दिने भएकाे स्राेत बताउँछ । समाजवादी,जनमत , माओवादी र लाेसपाले भने मुख्यमन्त्रीकाे उम्मेदवारबारे निर्णय गरिनसकेकाे जनाएका छन् ।
 

टिप्पणीहरू