रविको पासपोर्ट र नागरिकता खोज्दै नेपाल प्रहरी अमेरिकी दूतावासमा

रविको पासपोर्ट र नागरिकता खोज्दै नेपाल प्रहरी अमेरिकी दूतावासमा

नेपाल प्रहरीले हालै निर्वाचित माननीय रवि लामिछानेको अमेरिकी नागरिकता र राहदानीको विवरण पठाइदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले दूतावासलाई परराष्ट्र मन्त्रालयमार्फत् पत्र लेखेको बताइएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र सोसम्बन्धी भएका निर्णयका बारेमा जानकारी दिन,’ पत्रमा आग्रह गरिएको छ । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पनि पत्र लेख्दै लामिछानेको नेपाली तथा अमेरिकी नागरिकता त्याग र प्राप्तिसम्बन्धी कागजात मगाएको छ । 

उता सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले लामिछानेविरुध्द निर्वाचन आयोगमा लिखित उजुर गरेका छन् । उनले हालै निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पार्टी सभापति रविसङ्ग नेपाली नागरिकता नहुँदा पनि विदेशी नागरिकलाई राजनीतिक दल खोल्न दिएको भन्दै आपत्ती जनाएका हुन् । 

तर आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुध्द परेको नागरिकतासम्बन्धी उजुरी यसअघि नै खारेज भइसकेको र उनलाई संसद सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिइसकेको जानकारी गराएको छ ।

हालै चितवन २ बाट निर्वाचित सांसद लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौँले यसअघि महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ । 

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका लामिछानेमाथि अमेरिकी नागरिकता नत्यागी वा पुनः नेपाली नागरिकता नलिई उम्मेदवारी दर्ता गराएको आरोप छ । सो सम्बन्धमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदनसमेत परेको थियो ।

निर्वाचन आयोगले लामिछानेसँग झारा टार्ने ७ दिनपछिको स्पष्टिकरण सोधेको र उनले चुनाव सकाएर स्पष्टिकरण बुझाए पनि आयोगले उक्त प्रक्रिया अघि बढाएको थिएन ।

टिप्पणीहरू