मेलम्ची घुमेर आएका सांसद पत्रसहित प्रधानमन्त्री निवासमा

मेलम्ची घुमेर आएका सांसद पत्रसहित प्रधानमन्त्री निवासमा

नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद निर्वाचित भएलगत्तै मेलम्चीको स्थलगत निरीक्षण गरेका उनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्काल उचित कदम चाल्नुपर्ने आवश्यकताबारे पत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

नेता सिंहले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । मेलम्ची खानेपानीका विषयमा सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे बुँदागत रूपमा सुझाव पनि दिइएको छ । 

तत्काल गर्नुपर्ने काममा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्ट ट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, दीर्घकालीन रूपमा गर्नुपर्ने काममा बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडी बढाउनुपर्ने, खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गराई असुरक्षित भए उपयुक्त स्थानमा बनाउनुुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने नेता सिंहको भनाई छ ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढीपहिरोको जोखिम रहिरहेको पनि ध्यानाकर्षण पत्रमा भनिएको छ । नेता सिंह केही दिनअघि मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका थिए ।

टिप्पणीहरू