बिहेमा भोज खानेहरु सबै बिरामी, जन्ती र माइतीपक्ष थला

पाल्पामा बिहे भोज खानेहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहे भोज खाएका सबै बिरामी परेको पालिका स्वास्थ संयोजक मणि अधिकारीले बताए ।

भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली,अम्रेली,पिपरटुङ,ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेको उनको भनाइ छ । गत १७ गते शनिवार बगनासकाली गाउँपालिका-१, चिर्तुङधारामा स्थानीय दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएका जन्ती र माइतीपक्ष बिरामी परेका हुन् ।

जन्ती आएका प्युठानका एकै गाउँका ४५ जनाभन्दा बढी बिरामी भएको जनाइएको छ । भोजमा मासु,पुलाउ,आलु र गोभीको तरकारी,मेवाको अचार,बटुक, आलुमुलाको अचार रहेको थियो । बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता समस्या देखिएको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नोदप्रसाद बस्यालले बताए ।

बिरामीहरुलाई औषधि वितरण गरिएको र औषधिले काम नगरेपछि उनीहरु तानसेनका नीजि स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका छन् । मिसन अस्पतालका अनुसार हिजाे २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना गरेर उपचार गरिएको थियो । उनीहरु खतरामुक्त भएपछि घर फर्किएका छन् ।

७० जनाभन्दा बढी बिरामी उपचारका लागि आएको जानकारी दिँदै चिर्तुङधारा स्वास्थ्य चौकीले बिहानैदेखि थप बिरामीको परीक्षण भइरहेको जनाएको छ ।
 

टिप्पणीहरू