सूर्य चिन्ह लिएर चुनाव लडेका कमल थापाको कन्तबिजोग,जम्मा १२ हजार भोट

सूर्य चिन्ह लिएर चुनाव लडेका कमल थापाको कन्तबिजोग,जम्मा १२ हजार भोट

पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालले मङ्सिर ४ को चुनावमा अकल्पनीय परिणाम व्यहोरेको छ । नेकपा एमालेको चुनाव चिन्हमा निर्वाचन लड्ने अध्यक्ष कमल थापाको निर्णयले राप्रपालाई ठूलो क्षति भएको हो । 

सूर्य चिन्ह लिएर प्रत्यक्षमा उठेका थापा मात्र पराजित भएनन्, उनको पार्टीले पनि धक्का खायो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ २६ सीट जितेको थापा नेतृत्वको राप्रपाले यसपटक देशभर १२ हजार भोट पाएको छ । 

एक वर्षअघि अध्यक्षमा पराजित भएपछि पार्टी त्यागेर हिँडेका थापाले राप्रपा नेपाल पुनर्गठन गरे र त्यो पार्टीको अध्यक्षसमेत बने । निर्वाचन आयोगले उनको पार्टीलाई चुनाव चिन्ह तीर दिएको थियो । तर, उनी आफैं भने पार्टीको  चिन्हबाट नलडी एमालेको सूर्य चिन्हबाट मकवानपुर १ मा उम्मेदवार बने । आफ्ना पार्टीका उम्मेदवारलाई भने उनले तीरमै उठाए ।

राप्रपा नेपालले प्रतिनिधिसभातर्फ १२ हजार ३०२ मत पाएको छ । उनले मकवानपुर १ मा प्रत्यक्षमा पाएको २६ हजार मत एमालेमै जोडिने भएकाले पार्टीलाई थप घाटा लागेको हो । राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१ हजार ६९६ मत पाएको छ । उसले प्रदेश १ मा ३,३९१, मधेसमा ६,५२२, बागमतीमा ५,६७५, गण्डकीमा ९१२, लुम्बिनीमा ३,३४९, कर्णालीमा ६०६ र सुदूरपश्चिम प्रदेशमा १,२४१ मत पाएको छ । 

यता, थापाले छाडेको राप्रपाले भने संघतर्फ प्रत्यक्ष र समानुपातिक गरी १४ सिट हात पार्ने भएको छ ।

टिप्पणीहरू