पत्रकार एलनमाथि हातपात गर्नेलाई माफी दिएर छाडियो
समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव एवम् सक्रिय पत्रकार रामकुमार एलनसहित अन्य दुई जनामाथि कुटपिट गर्ने समूहलाई माफी दिइएको छ ।
नेपाल पत्रकार महासंघ, हेटौंडा शाखा र प्रहरीमा आज दिनभरको छलफलपछि दुई पक्षबीच मुद्दा अघि नबढाउने गरी मिलापत्र भएको हो । नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँसहित कुटपिट गर्ने समूहले माफी मागेपछि उक्त विषयको छिनोफानो भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष,समाजवादी प्रेस संगठनका पदाधिकारी,वरिष्ठ पत्रकार निर्मला शर्मासहितको टोलीले लामो छलफल गरेपछि माफी दिने सहमति जनाएका हुन् ।
अस्ति राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित पल्पसा सदनमा पत्रकार एलनसहित नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर र रमेश बञ्जारामाथि सांघातिक आक्रमण भएको थियो ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै पत्रकार एलनमाथि झण्डै दुई दर्जनको समूहले आक्रमण गरेको थियो ।
उनीहरुलाई छुट्याउने क्रममा महासचिव मगर र बञ्जारालाई चोटपटकसमेत लागेको थियो । महासचिव मगर सामान्य घाइते भएका थिए भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको बताइन्छ ।
टिप्पणीहरू