गौशालाको धर्मशाला नभत्काउन उच्चको आदेश
उच्च अदालत,पाटनले मारवाडी सेवा समितिले निर्माण गरेको संरचना भत्काउने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । गौशाला चोकमा रहेको धर्मशालामा क्षति हुन सक्ने कुनै कार्य नगर्न–नगराउन भन्दै अदालतले आज आदेश जारी गरेको हो ।
समितिका प्रमोदमान अग्रवालले हालेको मुद्दामाथि सुनुवाई गर्दै न्यायाधीश श्यामजी प्रधान र दिपेन्द्रबहादुर बमले कित्ता नम्बर ८३ र ८५ मा अवस्थित उक्त संरचनामा क्षति पुग्ने कुनै पनि कार्य नगर्न भनेका छन् ।
‘कित्ता नम्बर ८३ र ८५ मा अवस्थित संरचना भत्काउने सम्बन्धमा प्रकाशित सूचना र जारी भएका उक्त पत्रहरु अनुसारको कुनै पनि कार्य नगर्नु–नगराउनु भनी यस अदालतबाट मिति २०७९–०८–१२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत नियमावली, २०७३ को नियम ४१ बमोजिम निरन्तरता प्रदान गरिएको छ’, आदेशमा भनिएको छ ।
पशुपति विकास कोषका महासचिवसमेत साक्षी बसी भएको सम्झौतामा तल्ला थप एवम् अन्य निर्माण गर्दा मापदण्डअनुरुप हुनुपर्ने शर्त रहेको विषयलाई आधार मानेर उच्चले यस्तो फैसला सुनाएको हो ।
निवेदकले कुनै अवैध संरचना निर्माण गरेको भए त्यसको यकिन हुनुपर्ने आदेशमा उल्लेख छ । गौशाला धर्मशाला उध्देश्यअनुसार सञ्चालन नभएको भन्दै पशुपति विकास कोषले त्यसलाई हटाउन निर्देशन दिएको थियो । समितिले कोषको निर्णयको विरोधमा मुद्दा हालेको थियो ।
टिप्पणीहरू