ओलीको उत्तराधिकार सम्हाल्न कसले पाउलान् एमालेमा ?

ओलीको उत्तराधिकार सम्हाल्न कसले पाउलान् एमालेमा ?

चितवन महाधिवेशन सकिएको एक वर्ष नबित्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीबारे राजनीतिक वृत्तमा चर्चा शुरु भएकाे छ ।

पार्टीको समग्र चुनावी परिणाम र सारा भविष्यवाणी उल्टो सावित हुँदै गएपछि  पूर्वप्रधानमन्त्री ओलीले नैतिकतावोध गर्दै सँरक्षकको भूमिकामा बस्न तयार होलान् नहोलान् वा त्यस्तो अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष सुवास नेम्वाङ,उपाध्यक्ष विष्णु पौडेल वा महासचिव शंकर पोखरेलमध्ये कसलाई जिम्मेवारी सुम्पिएलान् ! झिनो चर्चा यतातिर पनि चलेकै छ ।

एमाले पंक्तिमा ‘विष्णु—शंकर’को प्रायःजसो चासो,चिन्ता र चर्चा भइरहन्छ। ‘ओली’ जीवनमा उदात्त फैलिएका दुई किनारा हुन्— उपाध्यक्ष पौडेल र महासचिव पोखरेल। 

‘एमाले जीवन’ रेखामा ओली रहँदासम्म यी दुई किनाराको संगम भेट्न लगभग मुस्किलै छ भनिन्छ । पार्टीभित्र बराबर हैसियतमै हाँकिरहेका यी दुई पात्र ‘ओली भाग—२’को दौडमा छन् । 

०००

त्यसो त नेकपा (एमाले) का पूर्वनेता घनश्याम भुसाल एमालेभित्र केपी शर्मा ओलीको उत्तराधिकारी महासचिव शंकर पोखरेल नै  भएकाे दाबी गर्छन् ।

कान्तिपुर टेलिभिजनको एउटा अन्तर्वार्तामा ‘को देख्नुहुन्छ केपी शर्मा ओली पछि नेकपा (एमाले)मा ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो चाहिँ प्रष्ट छ । दुनियाँले जानेकै कुरा हो,उहाँ (केपी शर्मा ओली)ले ल्याउन खोजेको चाहिँ हाम्रो शंकरजीलाई हो ।’

आम निर्वाचनमा दाङ्ग—२ बाट पराजित महासचिव पोखरेलबारे यसाे भन्छन् भुसाल, ‘शंकरजी त्यहाँ पराजित हुनुभयो,त्यो त संसदीय निर्वाचनको पराजय हो। त्यसले पार्टीमा निर्णायक फरक पार्दैन ।’

नेकपा (एमाले) मा अन्य नेताभन्दा महासचिव पोखरेलले धेरै राम्रो गर्न सक्ने उनको भनाइ छ। ‘ओलीजी भन्दा राम्रो धेरैले गर्न सक्नुहुन्छ। शंकरजीले नै पनि धेरै राम्रो गर्न सक्नु हुन्छ,’ भुसालले भनेका छन् ।

टिप्पणीहरू