समानुपातिक सांसद चयनमा रास्वपामा लफडा,घन्टी घरमा रविविरुद्ध नारावाजी

समानुपातिक सांसद चयनमा रास्वपामा लफडा,घन्टी घरमा रविविरुद्ध नारावाजी

पार्टी गठनको छोटो समयमै अप्रत्यासित नतिजा निकालेर हौसिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनलाई लिएर लफडा निम्तिएको छ । समावेशी सिद्धान्तका आधारमा संविधानले तोकेको सीमाभित्र रहेर छनोट हुने समानुपातिक सांसद चयन प्रक्रियामा चलखेल भएको भन्दै सो पार्टीमा विवाद शुरु भएको हो । 

विवाद चर्किंदै जाँदा पार्टी केन्द्रीय कार्यालयमा आज प्रदर्शन भएको छ । विधानबाहिर गएर गरिएको निर्णय कसैको लागि पनि हितकर नहुने भन्दै प्रदर्शनकारीहरुले बसुन्धरास्थित केन्द्रीय कार्यालय (घण्टी घर) घेराउ गरेका हुन् ।

असन्तुष्ट समूहले 'प्राइमरी इलेक्सन'बाट आएकाहरूलाई पन्छाएर नेताको व्यक्तिगत स्वार्थ अनुकूलका व्यक्तिलाई समानुपातिक सांसदमा पठाउन खोजेको आरोप लगाएको छ । पार्टीको विधि,पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रमसंख्या भन्दा बाहिर गई समानुपातिक सांसद चुन्न लागेको प्रदर्शनकारीहरुको आरोप छ । 

निर्वाचनमा चुनिएर आएकाहरुलाई प्राथमिकतामा नराखेको भन्दै उनीहरुले पार्टी सभापति लामिछानेविरुद्ध नाराबाजीसमेत गरेका छन् । पार्टी बिग्रिएला भन्ने डरले ‘खबरदारी सभा’ गरेको प्रदर्शनकारीहरुले बताए । 

रास्वपाले मंसिर ४ गतेको निर्वाचनमा प्रत्यक्षतर्फ सात सीट जितेको छ । त्यस्तै, समानुपातिकतर्फ १३ सीटमा विजय हासिल गरेको छ ।

टिप्पणीहरू