अन्तर्घातले मधेसमा माओवादी दिनदिनै यस्तरी ओरालो

अन्तर्घातले मधेसमा माओवादी दिनदिनै यस्तरी ओरालो

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मधेस प्रदेशतिर नेकपा माओवादी केन्द्र ९ सिटमा खुम्चियो । २०७४ सालकाे निर्वाचनमा २१ पालिका जितेकाे माओवादी ९ सिटमा सिमित हुनुमा पार्टीभित्रको अन्तर्घात प्रमुख कारण रहेको नेताहरुले बताए । त्यतिबेला अन्तर्घात गर्नेलाई कारवाही गर्न गठित अध्ययन कार्यदलले सिफारिससहितको प्रतिवेदन बुझाएको थियो । तर, मङ्सिर ४ को निर्वाचनमा पनि माओवादीले मधेसमा आफ्नो पुरानो वर्चस्व फर्काउन सकेन । बरु गत निर्वाचनमा भन्दा पनि खराब परिणाम निकाल्दै सिंगो मधेसबाट ऊ एक सीटमा सीमित हुन पुग्यो । 

२०७० सालको निर्वाचनमा माओवादी देशैभर कमजोर हुँदा पनि महोत्तरीबाट चुनाव जितेका उपमहासचिव गिरिराजमणि पोखरेल पाँचदलीय गठबन्धनका बाबजुद पनि यसपटक पराजित हुन पुगे । मधेसका प्रभावशाली मानिने मात्रिका यादवले पनि यसपटक जित्न सकेनन् । कुनै बेला कर्णालीपछि माओवादीको प्रभाव क्षेत्र मानिने मधेसमा माओवादी कमजोर हुँदै जानुमा अन्तर्घात नै मुख्य कारण रहेको नेताहरुले बताउने गरेका छन् । 

खासगरी पूर्व एकताकेन्द्र समूह र जनयुध्द लडेका नेताहरुबीचको द्वन्द्वकै कारण मधेस प्रदेशमा माओवादी कमजोर बनेको अधिकांश नेताको दावी छ । यी दुई समूह खुलेरै एकले अर्कोलाई असहयोग गरेकाले पार्टीका उम्मेदवार पराजित हुनुपरेको बताइन्छ । यसैबीच माओवादी केन्द्र सर्लाही जिल्ला कमिटीले अन्तर्घात गरेको आरोपमा दुई पोलिटब्युरो सदस्यलाई कारबाहीको सिफारिस गरेको छ ।

"पार्टीकै केही नेताले जवाहर कुसवाहलाई प्रदेशमा उठाएका थिए,उनले जिते तर, पार्टीले हार्यो', यादवले भने, 'यसैबाट थाहा हुन्छ कसले अन्तर्घात गर्यो ।'

आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पोलिटब्युरो सदस्यहरु अच्युतम काफ्ले र रामेश्वर राय यादव कारबाहीको सिफारिसमा परेका हुन् । उनीहरुमाथि आफ्ना पार्टीका उम्मेदवारलाई हराउन र एमाले उम्मेदवार हरिप्रसाद उप्रेतीलार्ई जिताउन भूमिका खेलेको आरोप छ । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन् भने यादव पूर्व संघीय सांसद हुन् ।

सर्लाही-३ मा माओवादीबाट आधिकारिक उम्मेदवार नरेन्द्र कलवार साह थिए । तर,यादवले साहलाई अन्तर्घात गरेको भन्दै सर्लाहीको चार स्थानीय तहका कमिटीले सिफारिस गरेका छन् । 

 
केन्द्रीय नेतामाथि नै अन्तर्घातको आरोप लागेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दुवै पक्षलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् ।  खुमलटारमा दुवै पक्षका नेताहरूलाई बोलाएर अन्तर्घातका विषयमा चासो राख्दै प्रचण्डले छलफल गरेको पूर्वमन्त्री यादवले बताए । छलफलमा यादव र काफ्लेसँगै मधेस प्रदेश इन्चार्ज गणेश साह,हरिवन,बाग्मती, बरहथवा नगरपालिका कमिटीका नेता सहभागी थिए ।

पूर्वमन्त्री यादवले भने आफूले अन्तर्घात नगरेको दावी गर्दै अध्यक्षलाई आफ्ना कुरा प्रष्ट राखेको बताए । ‘अध्यक्षले दुवै पक्षका कुरा सन्नुभयो । त्यसपछि केही रहेनछ । तपाईँले त्यस्तो कुनै अन्तर्घात गर्नु भएको रहेनछ भन्नुभयो’,उनले भने । 

पार्टीकै मेयरहरुले प्रदेशमा स्वतन्त्र उम्मेदवार उठाएर आधिकारिक उम्मेदवारलाई हराएकाले आफूमाथिको आरोप पुष्टि नहुने उनले दावी गरे । पार्टीकै केही नेताले जवाहर कुसवाहलाई प्रदेशमा उठाएका थिए,उनले जिते तर, पार्टीले हार्यो', यादवले भने, 'यसैबाट थाहा हुन्छ कसले अन्तर्घात गर्यो ।'

दुवै पक्षका कुरा सुनेका प्रचण्डले जिल्लाको उजुरी पार्टीमा दर्ता गरेर औपचारिक रुपमै छलफल गर्ने बताएका छन् । आज यो छलफल हुँदा अर्को कोठामा प्रभू साह पनि बसिरहेका थिए ।

टिप्पणीहरू