महासचिवबाट भएको महाभूल

महासचिवबाट भएको  महाभूल

संघीय संसदका महासचिव भरतराज गौतमको यौटा पत्रले न्यायालयसँगै संसद सचिवालय र सिङ्गै मुलुक तरंगित भएको छ ।

महाअभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको निलम्बनलाई निष्क्रिय बनाइदिने महासचिव गौतमको बुधवार बिहानको अप्रत्यासित पत्रबारे स्वयम संसदका अरु जम्मै जिम्मेवार पदाधिकारीले अनभिज्ञता र आपत्ति जनाएका छन् । ‘कसैसँग सल्लाह गरिएको छैन । पत्रबारे सञ्चार माध्यममा आउनुअघि कसैलाई थाहा पनि थिएन,’एक जना सचिवले बताए । 

संसद सचिवालयको कानुन हेर्ने सहसचिव, उपसचिव,शाखा अधिकृत,टाइपिष्ट सबैजना पत्रबारे बाहिरी समाचार पढेर र सुनेर वाल्ल परेका छन् । 

सचिवालय स्रोतले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङसँग महासचिव गौतमले गरेको गोप्य र पटक पटकको छलफलपछि उक्त पत्र लेखिएको दाबी गरेको छ । गौतमले राजनीतिक ब्याकअपको आधारमा  उक्त पत्र लेखेकोसमेत राजनीतिक वृत्तमा चर्चा छ ।

पत्र लेखिएको दिन संसदका कर्मचारीहरु फुटसल खेल्न भृकुटीमण्डप पुगेका थिए । उनीहरु त्यता गएपछि पत्रलाई बाहिर कतै औपचारिकता दिने काम भएको आशंका छ । उनीहरु संसद सेवा दिवसको उपलक्ष्यमा फुटसल खेल्न गएका हुन् । ‘सहसचिवहरुको मैत्री म्याच भएको हो । एकाध घण्टा खेलेपछि हामीहरु संसदमा गएका थियौं,’ एक जना सहसचिवले भने ।

"गृहमन्त्रीले प्रतिनिधिसभा सचिव योगीलाई फोन गरेर महासचिव गौतमलाई हटाउने उपायबारे सोही दिन सोधनी गर्नुभएको स्रोतले बतायो ।"

गौतमले लेखेको भनिएको पत्र संसद सचिवालय बाहिर टाइप गरिएको कर्मचारीहरु बताउँछन् । सचिवालयमा गरिने टाइप र पत्रमा देखिएको फण्ट फरक परेकाले उनीहरुले उक्त निचोड निकालेका हुन् । सचिवालयमा कार्यरत एक जना शाखा अधिकृतले भने,‘बाहिर ड्राफ्ट गरेर,बाहिरैबाट चोलेन्द्रको हातमा पुर्याइएको आशँका छ ।’

पत्रका कारण राजनीतिक र कानुनी क्षेत्रमा बबाल उत्पन्न भएपछि महासचिवले बुधवार सचिव र सहसचिवहरुलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । छलफलमा बोल्दै महासचिव गौतमले सबैभन्दा पहिले ‘तपाईंहरुलाई किन दुःख दिनु भनेर म आफैंले पत्र लेखेको हुँ,’ भनेको सहभागी एक जनाले बताए । 

छलफलमा प्रतिनिधि सभाका सचिव गोपाल योगी पनि सामेल थिए । तर राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल भने सहभागी थिएनन् । 
गौतमको कार्यकक्षमा भएको छलफलमा संसद सचिवालयका कर्मचारीतर्फका हाकिम सुदर्शन खड्का पनि सहभागी थिए । ध्रुव घिमिरे भने आफन्तको मरणको कारण घाट गएकाले अनुपस्थित भएको बताइन्छ । 

गौतमसँगको कुराकानीप्छि सबैले अध्यक्ष तिमिल्सिनासँग छलफल गरेर पत्र लेखिएको अनुमान लगाएका छन् । प्रतिनिधि सभाका सभामुख नभएको अवस्थामा संसदमा यतिखेर सबैभन्दा ठूलो र सर्वेसर्वा व्यक्ति अध्यक्ष नै हुने व्यवस्था छ । त्यसैले उनीहरूले पछिल्लो पत्र एमाले उपाध्यक्ष नेम्वाङलगायतसँग बाहिरै छलफल गरेर बाहिरै पत्र लेखिएको निचोड निकालेका हुन् ।

सत्तारुढ गठबन्धन दलले राणामाथि लगाएको आरोप ठीक थिएन भन्ने एमालेको निचोड रहँदै आएको छ । अर्कोतर्फ प्रधानन्यायाधीश राणाको पनि जागीर अब तीन दिन मात्र बाँकी छ । यस्तो अवस्थामा सर्वोच्चमा गएलगत्तै कुनै बवण्डर मच्चाउने उद्देश्यले न्यायपरिषद्को बैठक बोलाउने सम्भावना बुझेपछि सत्तारुढ दलका नेताहरु पछि हटेको आशंका गर्नेहरु पनि छन् ।


 
‘साविकको कित्तासँग राणाले छलफल गरेर यो काम भएको हुनुपर्छ,’ बालुवाटार स्रोतले भन्यो । आफ्नो पत्रपछि सबैतिरबाट आक्रमण भएकाले महासचिव गौतमले आफ्नो पनि जागिर दुई तीन दिन बाँकी रहेको निकटस्थसँग बताएका छन् ।  

संसद सचिवालयको कानुन हेर्ने सहसचिव तथा प्रवक्ताले पनि पत्रबारे अनभिज्ञता जनाएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नगरी पत्र लेखिएको स्वीकारे । सचिवालयका कानुनी सल्लाहकार सहसचिव लक्ष्मी गौतमले जनआस्थाको जिज्ञाशामा भने,‘यो निर्णय प्रक्रियामा म सामेल छैन । मसँग कुनै परामर्श पनि गरिएको छैन ।’

उता प्रवक्ता डा.रोजनाथ पाण्डेले पनि गौतमको जस्तै भनाइ दोहोर्याएका छन् । कर्मचारी नेताहरुका अनुसार महासचिव गौतमको यो आत्मघाती कदम हो । त्यसैगरी पूर्व सभामुख अग्नि साप्कोटाका स्टाफ बबिन शर्माले पनि गौतमको पत्रलाई आत्मघाती निर्णयको कोटीमा राखेका छन् ।  उनले भने,‘महासचिवले ठूलो जोखिम लिनुभयो । धेरै मूल्य चुकाउनुर्ने अवस्था उत्पन्न हुने गरेर किन यस्तो निर्णय लिनुपरेको होला ? अचम्म छ ।’


बुधबार बिहान निलम्बित प्रधानन्यायाधीश राणाले प्रधानमन्त्रीलाई फोन गर्नुभएको उच्च राजनीतिक स्रोतले बताएको छ । लगत्तै प्रधानमन्त्रीले गृहमन्त्री, सञ्चारमन्त्री, महान्यायाधिवक्ता सबैलाई बालुवाटार बोलाउनुभएको थियो । सो अवसरमा उहाँले ‘प्रधानन्यायाधीश राणा संसदले पत्र दिएकाले अदालत जान्छु भन्छन् के गर्ने ?,’ भनी जिज्ञाशा राख्नुभएको थियो ।

तर सहभागीहरुले यो एमालेबाट निर्देशित कदम भएकाले राणालाई अदालत जान दिन नहुने धारणा राखेको बताइन्छ । अर्कोतर्फ गृहमन्त्रीले प्रतिनिधिसभा सचिव योगीलाई फोन गरेर महासचिव गौतमलाई हटाउने उपायबारे सोही दिन सोधनी गर्नुभएको गृह मन्त्रालय स्रोतले बतायो ।

राणा आगामी मंगलवारदेखि अवकाश भएपछि बहालरत प्रधानन्यायाधीशले आगामी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न पाउने अवसरबाट चोलेन्द्र वञ्चित हुने पक्का देखिएको छ । ‘यस पटक आउट गोइङले सिफारिस गर्न पाउने छाँटकाँट देखिएन । परिस्थिति बेग्लै बन्यो ।’ एक जना न्यायाधीशले बताए ।

टिप्पणीहरू