माओवादीमा समानुपातिक छान्दा लफडा,योध्दाबाहेकलाई अवसर दिए राजीनामा

माओवादीमा समानुपातिक छान्दा लफडा,योध्दाबाहेकलाई अवसर दिए राजीनामा

नेकपा माओवादी केन्द्रभित्र समानुपातिक सांसद चयनलाई लिएर लफडा शुरु भएको छ । समानुपातिक सांसद चयन प्रक्रियामा परिवारवाद,जातिवाद देखिएको भन्दै  मधेश प्रदेशबाट समानुपातिकतर्फका उम्मेदवारलगायत अन्य नेता–कार्यकर्ताले विरोध जनाएका छन् । 

जिल्लाबाट सिफारिस नै नभएको व्यक्तिलाई राखेर संकिर्ण गुटीय घेराबन्दीलाई मजबुत पार्ने हर्कत गर्न खोजिएको आरोप लगाउँदै उनीहरुले त्यसको प्रतिरोध गरेका छन् । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पत्र लेखेर संघर्षको मोर्चामा अग्रणी स्थानमा रहेका योध्दाबाहेकलाई अवसर दिएमा राजीनामा दिने उनीहरुको चेतावनी छ । 

‘निरन्तर पार्टीप्रति बफादार रही संघर्षको मोर्चामा अग्रणी स्थानमा रहेका योध्दाबाहेकलाई अवसर दिएमा हामी सप्तरीका अधिकांश कमरेडहरु सामूहिक राजीनामा दिन बाध्य हुनेछौं’,पत्रमा भनिएको छ । 

गुट खडा गरेर पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने,सौदाबाजी गर्ने प्रवृत्तिले मधेश प्रदेशमा झन खतरनाक ढंगले पार्टी तहसनहस हुने नेता–कार्यकर्ताको ठहर छ । 

त्यस्तै, संघर्षशील योध्दाहरुलाई पाखा लगाएर अवसर खोज्नेहरुलाई काखी च्याप्ने प्रवृत्तिप्रति उनीहरुले घोर आपत्ति जनाएका छन् । 

पार्टीको पक्षमा दृढतापूर्वक उभिएका नेता–कार्यकर्ताहरुको राजनीति सिध्याउने र अवसरबाट वञ्चित पार्ने काम भइरहेको उनीहरुको ठहर छ । 

उक्त पत्रमा समानुपातिक उम्मेदवार अरुणकुमार साह,चतुरनारायण चौधरी,कविताकुमारी ठाकुरलगायत नेता–कार्यकर्ताले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू