वीरेन्द्रले प्रचण्डलाई बचाएको त्यो बेला
माओवादी अध्यक्ष प्रचण्डले २१ वर्षपछि एउटा रहश्य खोल्नुभयो, राजा वीरेन्द्रसँगको सम्बन्ध, होलेरी काण्ड, अधिराजकुमार धीरेन्द्र र ज्ञानेन्द्रहरुसँगको सम्बन्धबारे !दशैंताका खुमलटारस्थित घरमा भेट्दा २०५८ सालको होलेरी दुनै (डाेल्पा) काण्ड खोतल्दै उहाँ भन्दै हुनुहुन्थ्यो– ‘रोल्पाको होलेरीमा हामी मुख्य–मुख्य नेता एकै ठाउँमा थियौँ । आकाशमा सेनाको हेलिकोप्टर उडिरहेको थियो । उसले हामी भएको ठाउँ पत्ता लगाएर माथिबाटै बम हान्दै थियो । तर, हामीलाई त्यसबेला बचाउने काम वीरेन्द्रले गर्नुभएको हो ।’ प्रचण्डले तत्कालिन अधिराजकुमार धीरेन्द्र शाहमार्फत राजासँग आफूहरु सम्पर्कमा रहेको बताउनुभयो । भन्नुभयो, ‘धीरेन्द्रले पठाएको चिठी अझै मसँग सुरक्षित छ ।’
तर, पूर्वराजा ज्ञानेन्द्रसँगको सम्बन्ध भने ‘ट्याक्टिकल’, अर्थात्, रणनीतिकमात्रै भएको भन्नुभयो । शाही शासनको समयमा माओवादीको राजनीतिक दलसँग हैन, ‘सीधै मालिकसँग वार्ता गर्छौं’ भन्दै युद्धविराम भएको थियो । प्रचण्डले त्यो प्रसंगलाई ‘रणनीतिक’ को संज्ञा दिनुभयो । दशैंअघि प्रचण्ड निवासमा राप्रपा नेपालका उपाध्यक्ष श्याम तिम्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य भेट्न गएका थिए । हालै सम्पन्न
प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर– १ बाट पराजित भएपछि अध्यक्ष कमल थापाले प्रचण्डलाई भेट्न जाने ती नेताका कारण आफूले हार्नुपरेको बताएका छन् । उक्त कुरा थापाले काठमाडौं फर्किएपछि पार्टी कार्यालयमा बसेको समीक्षा बैठकमा भनेका हुन् । प्रचण्डसँग आफ्नो पार्टीका नेताहरु भेट्न गएपछि हेटौंडाका एमालेहरु रिसाएर राप्रपा (लिङ्देन) का उम्मेदवार दीपकबहादुर सिंहलाई भोट हालेको उनले बताए । सिंहले जित्नुको कारण यति मात्रै थिएन ।
कमलले बैठकमा सुनाए, ‘इन्द्र बानियाँलाई जसरी पनि कांग्रेसकी उम्मेदवार डिना उपाध्यायलाई हराउनुपर्ने थियो । त्यसका लागि उनले दीपक सिंहलाई भोट हाल्न लगाए । अर्कातिर, हाम्रा साथीहरुले प्रचण्डलाई भेटेपछि त्यहाँका एमालेले ममाथि पनि शंका गरे र भोट दीपक सिंहलाई हालिदिए ।’ उनलाई साथीहरुसँग सल्लाह गर्नै नपाई सूर्य चिह्नबाट चुनाव लडेको भनेर कतिपयले तिरस्कार गरेको महसुस हुन थालेको छ ।
थापाले अहिले देशमा राजावादी र हिन्दू धर्म पक्षधरको भोट नभएको बताए । ‘राजाको मत भएको भए रविन्द्र मिश्रले जित्नुपर्ने’ उनको बुझाई छ, ‘गाउँगाउँमा परमेश्वरको अनुकम्पाले भन्छन् । यसचोटि हिन्दूत्वको ठाउँ क्रिश्चियनले लियो ।’ उपाध्यक्ष श्याम तिमल्सिनाले हिन्दूत्व र राजा मान्ने नभएका कारण मत घटेको भन्दै चुनाव हार्नुको नैतिक जिम्मेवारीसहित राजीनामा घोषणा गर्दा कमल थापाले ‘अहिले नदिनु, गलत सन्देश जान्छ’ भन्दै रोकेको बताइन्छ । प्रवक्ता सुरेश आचार्यले भने, ‘राजसंस्था भनेको भोट बैंक हो । उसलाई नमान्दा भोट घट्यो ।’
बैठकमा बोल्दा कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई ‘राजा’ जस्तो भक्तिपूर्ण शैलीमा प्रस्तुत गरेको श्रोत बताउँछ ।
टिप्पणीहरू